Hotel Panchthar Nepco Media

वैदेशिक रोजगारी : कोरियामा नेपाली श्रमिकको माग बढ्यो

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्यमा नेपालीहरुको लागि कोरिया पर्दछ । सेवासुविधाका दृष्टिकोणले पनि नेपालीका लागि प्रमुख गन्तव्यनै पर्ने गरेको पाइन्छ । वैदेशिक रोजगारमा कोरिया नेपाली युवा कामदारको माग बढेकोले रोजगारका सलिसिलामा २०२४ मा पाच हजार युवा कोरिया पुगेका छन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार अन्य देशको तुलनामा नेपालले सबैभन्दा बढी कामदार कोरिया पठाउँदै आएको पाइन्छ । आम्दानीका हिसाबले पनि प्रमुख आकर्षणको गन्तव्य मुलुक कोरिया भएको छ ।

नेपाली युवाहरुको लगनशिलता, कामप्रतिको लगाव, अनुशासन र कोरियाप्रतिको प्रेमभावका कारण पनि पछिल्लो समय कोरियाले धेरै नेपाली माग गर्ने गरेको देखिन्छ ।

कोरियाको रोजगारदाताले पनि नेपाली कामदारलाई बढी विश्वास गर्ने भएकाले नेपाली युवाको माग धेरै हुने गरेको छ । नेपालीहरु तोकिएको श्रम करार अवधि सकिएपछि समयमै स्वदेश फिर्ता हुनाले पनि कोरियाले नेपाललाई सकारात्मक रुपमा हेर्ने गरेको श्रम विज्ञहरुको भनाइ छ ।

सन् २०२३ मा १६ वटा राष्ट्रमध्ये नेपालबाट सबैभन्दा धेरै १९ हजार ६८९ कामदार कोरिया प्रवेश गरेका थिए । अन्य देशको तुलनामा कोरियाले नेपालीलाई उच्च मूल्यांकनमा राखेको छ । अहिले उत्पादन क्षेत्रतर्फ ९ हजार ७२८ जना, कृषिमा ९ हजार ६७२ जना, शीप बिल्डिङमा ३ हजार ८८५ जना र सिविटीमा ७५४ जना गरी २४ हजार ३९ जना रोष्टरमा छन् ।

कोरियामा काम गर्ने स्वदेशी वा विदेशी कामदारले न्यूनतम पारिश्रमिक पाउने व्यवस्था छ । नेपालबाट प्रस्थान गर्नुअघि ६ वर्षे वैदेशिक रोजगार बीमा गर्नुपर्छ भने कोरिया पुगेपछि स्वास्थ्य बीमा, स्वदेश फिर्ता बीमा, दुर्घटना बीमा, चोटपटक बीमा गर्नुपर्ने व्यवस्था रहेकोे छ ।