‘फर्की-फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुने

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को शुभमूहुर्त भएको छ ।

मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रका अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायाङ्कन गरिएको हो ।

चलचित्र प्रेम–कथानक भए पनि अघिल्ला भन्दा फरक छ । प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौँ, अभिनेता केसीले भने ।

निर्देशक सुयोग गुरुङले अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने जानकारी दिए।

अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले चलचित्रमा
अभिनय गर्ने छन् ।

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन रहने छ भने, द्वन्द्व निर्देशन हुने अष्ट महर्जनले गर्ने छन् ।

चलचित्रको छायाङ्कन काठमाडौं, पोखरा, मनाङ, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले बताए ।