काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान-विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस-२०८० को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिए ।
स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिकरूपमा सबल बनाउन योगले सहयोग पुर्याउने प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ ।
शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग भएकाले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्मज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यस क्षेत्रका अनुभवी व्यक्तिको ज्ञान र अनुभवबाट सिक्नुपर्ने उहाँले जिकिर गरे ।
तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले योग र ध्यानका अभ्यास व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान गर्ने भएकाले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ता र योग गुरूको अहम् भूमिका हुने बताए ।
मानव जातिको इतिहास, जीवनवृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयामिक योगदान गर्दै आएको र चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वी वाङ्मय र जीवनशैलीमा पनि नेपाली त्यति नै वैभवशाली भएकाले यसको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञान भण्डार र जीवनलाई विश्वव्यापीरूपमा स्थापित गर्न पनि प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन्।