Hotel Panchthar Nepco Media

नौ महिनामै भित्रियो १० खर्ब ८२ अर्ब वैदेशिक रोजगारीको रेमिट्यान्स

काठमाडौं ।चालु आर्थिक वर्षको नौ महिनामा  १० खर्ब ८२ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । गत वर्ष १३.९ प्रतिशतले बढेको थियो । बिदेसिनेको संख्या भने घटेको छ ।

चालु आर्थिक वर्षको यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ) लिने नेपालीको संख्या तीन लाख

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ छ । गत वर्षको सोही अवधिमा बिदेसिनेको संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ थियो ।

मुद्रा सञ्चितिसमेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुँदा दैनिक करिब दुई हजारको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाए‌को छ । यसरी विदेशिने श्रमिकहरूले पठाउने रेमिट्यान्सबाटै मुलुकको अर्थतन्त्र धानेको छ।