काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले दुई दलीय तानाशाही नचाहिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालबाटै सक्तारुढ दल काग्रेस र एमालेमाथि आक्रोश पोखेका हुन् । अहिले दुई ठूला दल सरकारमा छन् । दोस्रो ठूलो दल एमाले सरकारको नेतृत्वमा छ । पहिलो ठूलो दल काँग्रेस सरकारको सहयात्री दल हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दल सम्बन्धी थ्रेसहोल्ड राख्न तयारी गरिरहेको बेला डा राउतले यस्तो बताएका हुन् । डा राउतले सरकारले निर्वाचन कानुन संशोधनका क्रममा सङ्घमा ५ र प्रदेशमा ३ प्रतिशत थ्रेसहोल्ड राख्न तयारी गरेको भन्दै त्यसलाई नेपाली जनताले नस्विकार्ने समेत बताए ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्नेछ ।’
बिहीबार सामाजिक सञ्जालमा लेख्दै राउतले भनेका छन्, ‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकी उनीहरूले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउन् ।’
उनले कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने विषयमा सदनलाई बताउन सक्नुपर्नेमा राउतको जोड छ ।
‘त्यस विपरीत ६-७ लाख गर्दै दसौँ लाख (३०-४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठुला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन’, राउतले यदि त्यसरी कानुन संशोधन गरे सङ्घर्ष गर्न तयार रहेको बताएका छन् । ‘हामी सङ्घर्षका लागि तयार छौँ । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन’, राउतको भनाइ छ ।






























