के होला राष्ट्रिय परिचयपत्र विवादको अन्तिम सुनुवाइ ?

काठमाडौं । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज सुनुवाइ अन्तिम हुने भएको छ । न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दा आज अन्तिम सुनुवाइ हुने भएको हो ।

आज रिट निवेदकका तर्फबाट बहस सुन्दै सर्वोच्चले निर्णय सुनाउने भएको छ। हिजोको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्चले जनाएको छ ।

यसअघि दुवै पक्षको उपस्थित नभएपछि पेशीको जानकारी दिने आदेश सर्वोच्चले गरेको थियो । उक्त आदेशपछि रिट निवेदन र सरकार दुवैका कानुन व्यवसायी उपस्थित भएपछि सर्वोच्चले बिहीबारबाट सुनुवाइ थालेको थियो ।

अधिवक्ता रामबहादुर राउत र विमल पोखरेले समेतको रिटमा अन्तरिम आदेश जारी भएपछि सरकारले कात्तिक २० गते भ्याकेटको निवेदन दर्ता गरेको थियो । अन्तरिम आदेश खारेज नहुँदा राष्ट्रिय परिचयपत्रसहित नागरिकको एकीकृत तथ्याङ्कमा समस्या भएको दाबी सरकारले गरेको थियो ।

सर्वोच्चले सरकारको भ्याकेज जारी गरेमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज हुँदै सबैमा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा लागू हुनेछ।