काठमाठौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप श्रमिकको मागपत्र प्रमाणीकरण वैदेशिक रोजगार विभागबाट गराउन सकिने तयारी गरेको छ ।
कार्यविधि ल्याएर युरोपेली मुलुकमा संस्थागत (वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत) श्रमिक पठाउन योजनामा विभाग रहेको छ । युरोपमा नेपाली श्रमिक धेरै भएकाले माग प्रमाणीकरण विभागबाटै हुनपर्ने माग वैदेशिक रोजगार व्यवसायी सङ्घको थियो । यो तयारीसँगै वैदेशिक रोजगार व्यवसायी संघको माघ पुरा हुने देखिएको छ ।
हाल युरोपमा व्यक्तिगत भिसामा ठुलो धन खर्च गरेर नेपाली युवायुवती युरोप जाने गरेको पाइन्छ । व्यक्तिगत भिसामा जाँदा धेरै नेपालीहर ठगीमा पर्ने भएकाले यसको नियन्त्रणका गर्न संस्थागत रूपमा श्रमिकलाई युरोप पठाउनका माग प्रमाणीकरण विभागबाट गर्नुपर्ने सङ्घले माघ गर्दै आएको थियो ।
धेरै युरोपी देशमा नेपाली श्रमिकको माग भएको तर, नेपाली दूतावास नहुँदा माग प्रमाणीकरणमा समस्या भएकाले दूतावास नभएका देशको माग प्रमाणीकरण विभागबाट गर्ने व्यवस्था भएमा धेरै नेपालीले युरोपमा अवसर पाउने वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । भण्डारीका अनुसार युरोपका रोमानिया, पोर्चुगल, क्रोएसिया, इटाली, पोल्यान्ड, डेनमार्कलगायतका देशमा नेपाली श्रमिकको राम्रो माग रहेको छ ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले मागपत्र प्रमाणीकरणको काम विभागले गरे आकर्षक गन्तव्य युरोपेली देशमा धेरै रोजगारीका अवसर सुनिश्चित गर्न सकिने व्यवसायीको आग्रहपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
वैदेशिक रोजगार व्यवसायीकै आग्रहमा अघिल्लो कार्यकालमा शरत्सिंह भण्डारी हुँदा वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि, २०८० जारी भएको थियो । संस्थागत मागपत्र पेस भएको १५ दिनसम्म पनि दूतावासले प्रमाणीकरण नगरेको अवस्थामा सिधै श्रम मन्त्रालयले हेर्ने व्यवस्था उक्त कार्यविधिमा उल्लेख थियो ।





























