काठमाडौं । जनकपुर चुरोट कारखानाको बाकी भएको सम्पति र जमिन बेचिखाने षड्यन्त्र भइरहेको खुलासा भएको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस(प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
आइतबार बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले भने, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउन प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत चुरोट कारखानालाई ल्याइएको छ ।”
सरकारले पुनः जनकपुर चुरोट कारखानालाई निजीकरण गरिरहेको कुरा आफूले दुई/तीन दिनदेखि सुन्दै आएको बताउँदै उनले भने, “यो आपत्तिजनक कार्य मात्र होइन यो संघीय विरोधी कदम पनि हो ।”
संघीय उद्योगमन्त्रीसँग आफूले यसबारे छलफल गरेको भन्दै निधिले भने, “उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको बताउनुभएको छ ।”
जनकपुर चुरोट कारखानालाई आफू गृहमन्त्री भएकै बेला निर्णय गराएर मधेस प्रदेशको मातहत ल्याइसकेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनी समेत दिए ।






























