काठमाडौं । नेपालीहरुको रोजगारी गन्तव्य मुलुक ओमानसँग इम्प्लोई पेइङ मोडलमा श्रम सम्झौता गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानसँग द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारी भइरहेको मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले बताएका हुन्। श्रम सम्झौताका लागि मस्यौदा ओमान पठाइएको र ओमानले कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाएपछि श्रम सम्झौता हुनेछ।
ओमान र नेपालबीच उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमतिसमेत भइसकेका कारण चाँडै श्रम सम्झौता हुने उनले बताए। ‘दुईपक्षीय रूपमा सम्बन्धित मन्त्रालयबीच श्रम सम्झौताको सहमति भइरहेको छ। कानुनी रूपमा टुंगो लाग्न बाँकी छ’, उनले भने। उनका अनुसार नेपालले द्विपक्षीय सहयोगका सवालमा रोजगारदातालाई जवाफदेही बनाउने विषय प्राथमिकतामा राखेको छ।
ओमानसँग रोजगारदाताले कामदार लैजाँदा लाग्ने खर्च व्यहोर्ने गरी श्रम सम्झौता हुने उप्रेतीले बताए। मस्यौदामा ओमानमा मृत्यु भएका नेपाली कामदारको शव जतिसक्दो चाँडो नेपाल पठाउने विषय पनि समेटिएको छ। ओमानसँग श्रम सम्झौता गर्ने विषय क्याबिनेटमा पठाउने तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ।






























