काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा सर्वसाधारणलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाइ सुनका गरगहना, मोबाइल तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरोह नै पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार विभिन्न मितिमा भएका श्रृंखलाबद्ध लुटपाटका घटनामा संलग्न भई फरार रहेका चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की), धुलिखेल नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३८ वर्षीय बिर्खबहादुर तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे बिक र नमोबुद्ध नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन् ।
प्रहरीले सङ्गीता तामाङलाई कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरेको जनाएको छ । अन्य तीन जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
पक्राउ परेकाहरूलाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ ।
यसरी गर्थे लुटपाट
प्रहरीका अनुसार गिरोहले सर्वसाधारणलाई खानेकुरा वा पेय पदार्थमा नसालु पदार्थ मिसाएर खुवाउने, त्यसपछि बेहोस बनाएर उनीहरूले लगाएका सुनका गरगहना तथा साथमा भएका नगद र अन्य सामान लुट्ने गरेको खुलेको छ ।
यसरी लुटपाट गरिएका गरगहनाहरू विभिन्न सुनचाँदी पसलमा बिक्री गर्ने तथा स्वरूप परिवर्तन गरेर कारोबार गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई बनेपा नगरपालिका–६ मा बस्दै आएकी ५४ वर्षीया गङ्गा गुरुङलाई भदौ २४ गते नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाएर लुटपाट गरिएको थियो ।
गुरुङको नगद ८ हजार रुपैयाँ र चार वटा राडी (कपडा) लुटिएको प्रहरीको विवरणमा उल्लेख छ । बेहोस अवस्थामा फेला परेकी उनलाई चार दिन आईसीयूमा उपचार गर्नुपरेको थियो ।
यस्तै, बनेपा नगरपालिका–४ मा बस्दै आएकी ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई जेठ १० गते आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो ।
बेहोस बनाएपछि उनीहरूको घरबाट सुनको रिङ दुई थान र सुनको तिलहरी एक थान लुटेर लगिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटनापछि हिरामाया सात दिन उपचार गर्नुपरेको थियो भने हस्तबहादुर एक दिन अस्पताल बसेका थिए ।
यस्तै, बनेपा नगरपालिका–३ मा बस्दै आएका ५१ वर्षीय हेमबहादुर बस्नेतलाई भदौ २८ गते नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई लुटपाट गरिएको थियो ।
उक्त घटनामा उनको साथबाट सुनको सिक्री एक थान, मोबाइल एक थान, सुनको औँठी एक थान र सुनको बाला एक थान लुटिएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।
भदौ २३ गते दिउँसो करिब १ बजे नमोबुद्ध नगरपालिका–११ मा बस्दै आएकी ६७ वर्षीया पञ्चमाया तामाङ घरमै बसिरहेको अवस्थामा दुई जना महिला पुगेका थिए ।
उनीहरूले खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि कानमा लगाएको सुनको रिङ लुटेर लगेको प्रहरीले जनाएको छ ।
सुनचाँदी पसलमा बिक्री
प्रहरीले पीडितहरूसँगको समन्वय र प्राप्त प्रमाणहरूको विश्लेषण गर्दा घटनामा सङ्गीता तामाङ र बिर्खबहादुर तामाङको संलग्नता रहेको खुलेको जनाएको छ ।
गङ्गा गुरुङ तथा हिरामाया जिम्बाको साथबाट लुटिएका गरगहनाहरू भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोस्थित जय शिवशक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे बिकलाई बिना रसिद बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पञ्चमाया तामाङको साथबाट लुटिएको सुनको बनेपा नगरपालिका–७ बस्ने प्रविन सुनुवारले धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालकलाई बिना रसिद बिक्री गरेको खुलेको छ ।
आपराधिक पृष्ठभूमि
प्रहरीका अनुसार पक्राउ परेकी सङ्गीता तामाङ र बिर्खबहादुर तामाङ यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
भदौ ३१ गते काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित काञ्छी तामाङलाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुन तथा नगद चोरी गरेको घटनामा समेत उनीहरूको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
उक्त घटनामा पनि सङ्गीता तामाङ र बिर्खबहादुर तामाङको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सङ्गीता तामाङविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा चोरीसम्बन्धी मुद्दा चलेको र धरौटीमा छुटेको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ ।
बिर्खबहादुर तामाङविरुद्ध पनि चोरी तथा डाँका मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।
नवराज घिमिरे बिकले चोरीको सुनका गरगहना बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेर राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीविरुद्ध पनि यसअघि चोरीसम्बन्धी मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको विवरण सार्वजनिक गरिएको छ ।
प्रविन सुनुवारको हकमा पनि चोरीको सुनका गरगहना खरिद गरी कारोबार गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




























