काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी प्रचलित कानुनहरूमा सुधार आवश्यक रहेको बताएका छन् ।
सरकारले प्रस्ताव गरेको तयार पारेको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकमा पनि यौन हिंसासँग सम्बन्धित विषयहरूमा सुधारको खाँचो उनीहरूले औंल्याएका छन् ।
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्यहरूले यौन हिंसासम्बन्धी ऐन अप्रर्याप्त रहेको र सरकारले हालै प्रस्ताव गरेको विधेयकले पनि सबै समेट्न नसकेको बताएका हुन् ।
नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पनि यौन हिंसा पीडकलाई कडा कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिइन् । ‘अहिलेको व्यवस्था अप्रर्याप्त छ । जन्मकैद भने पनि २५ वर्ष हो,’ उनले भनिन्, ‘दिन–रात गन्ने र पछि के के पुरस्कारको नाममा छिट्टै छुट्ने अवस्था छ । यसमा सुधार आवश्यक छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका पीडकलाई विशेष सजायको व्यवस्था हुनुपर्ने बताइन् । उनले भनिन्, ‘यौन हिंसाका पीडकलाई अन्य अपराधीसरह सजाय दिएर मात्र पुग्दैन । विशेष सजायको व्यवस्था हुनुपर्छ ।’
नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले यौन हिंसा पीडकलाई मृत्युदण्डको सजायको व्यवस्था राख्नुपर्ने बताइन् । तर त्यसका लागि संविधान बाधक रहेको उनको टिप्पणी थियो ।
‘अन्तर्राष्ट्रिय सन्धि सम्झौताको नेपाल पक्ष राष्ट्र भएकाले मृत्युदण्ड सजाय दिने कानुन निर्माण गर्न सम्भव छैन । तर त्यस्ता अपराधलाई कठोर सजायको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् ।
प्रतिनिधिसभामा नेकपा एमालेकी सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई समेट्ने गरी कानुन निर्माणमा हुनुपर्नेमा जोड दिइन् । अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर पीडकलाई सजाय बोध हुने गरी कठोर सजायको व्यवस्था राखिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक, वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सुधार गर्नुपर्ने बुँदासँग सम्बन्धित रहेर अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
जसमा उनले आर्थिक वर्ष २०८१/०८२ मा यौन हिंसासम्बन्धी नेपालमा भएका घटनाको अवस्था र प्रवृत्ति उजागर गरेका थिए । एक वर्ष भएका कुल अपराधको २९ प्रतिशत लैंगिक हिंसाका घटनाहरू रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।
जसमा ७८.५ प्रतिशत अभियुक्तहरू पीडितका परिचित व्यक्ति रहेको र ६२.४ प्रतिशत बालिका पीडित रहेको देखिन्छ ।
अर्का अधिवक्ता विनोदचन्द्र देवकोटाले यौन हिंसासम्बन्धी विषय गम्भीर भएकाले हतारमा कानुन निर्माण गरेर पछुताउनेभन्दा पहिले व्यापक छलफल गरेर प्रक्रिया अगाडि बढाउनु बुद्धिमानी हुने सुझाएका छन् ।




























