काठमाडौं । बालश्रमसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको श्रममा प्रवेश गर्ने उमेर, संवैधानिक अधिकार, अन्तर्राष्ट्रिय मापदण्ड र बालश्रमको सामाजिक आर्थिक कारणलाई सम्बोधन गर्नुपर्ने विषय उठेको छ।
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद कृपाराम रानाले विधेयकलाई संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग मिलाएर बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार सुरक्षित हुने गरी अघि बढाउनुपर्ने बताए ।
सांसद सोम शर्माले भने बालश्रमलाई कानुन र जरिवानाबाट मात्रै नियन्त्रण गर्न नसकिने भन्दै परिवारको आर्थिक अवस्था र रोजगारीको अभावसमेत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
सरकारले ल्याएको बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निश्चित सर्तमा हलुका काममा लगाउन सकिने व्यवस्था प्रस्तावित छ। यही व्यवस्थासहित बालश्रमका स्वरूप, कामको समय, रोजगारदाताको दायित्व र बालबालिकाको संरक्षणसम्बन्धी प्रावधानमाथि समितिमा छलफल भइरहेको छ।
सांसद कृपाराम रानाले विधेयकको सैद्धान्तिक पक्षमा संविधानको धारा ३९ मा प्रत्याभूत बालबालिकाको मौलिक हकलाई केन्द्रमा राखेर समीक्षा गर्नुपर्ने बताए।
संविधानले बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन र सर्वाङ्गीण व्यक्तित्व विकासको हक सुनिश्चित गरेको भन्दै उनले प्रस्तावित विधेयकले ती अधिकारलाई कुण्ठित गर्ने अवस्था आउन नहुने बताए। ‘हामीले ल्याएको विधेयकसँग रिलेटेड कुराहरू र संवैधानिक कुराहरू कुनै बाझिएका त छैनन्? त्यो कुरा सैद्धान्तिक रूपमा र नीतिगत रूपमा हामीले फर्स्ट हेर्नुपर्ने हुन्छ’, रानाले भने।
उनले संविधानको धारा ३९ को उपधारा २ मा उल्लेख बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार र उपधारा ४ मा कलकारखाना, खानी तथा जोखिमपूर्ण काममा बालबालिकालाई लगाउन नपाइने व्यवस्थालाई विधेयकमा पर्याप्त प्रत्याभूत गरिएको छ कि छैन भन्ने परीक्षण गर्नुपर्ने बताए।
विधेयकको अनुसूचीमा समेटिएका श्रमका स्वरूपमाथि पनि सूक्ष्म छलफल गर्नुपर्ने उनको भनाइ छ। एउटै कामको प्रकृति र परिस्थितिअनुसार जोखिम फरक हुन सक्ने भएकाले बालबालिकालाई काममा लगाउन सकिने सीमाको स्पष्ट निर्धारण आवश्यक रहेको उनले बताए।
रानाले बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को महासन्धि १३८ ले न्यूनतम श्रम उमेर १५ वर्ष निर्धारण गरेको विषय पनि उठाए । तर, नेपालका बालबालिकाको पोषण, पारिवारिक अवस्था, भूगोल र सामाजिक परिवेशलाई पनि उमेर निर्धारणको बहसमा ध्यान दिनुपर्ने उनको तर्क थियो। ‘विकसित राष्ट्रका बच्चा र विकासोन्मुख राष्ट्रका बच्चा र पछाडि परेका राष्ट्रहरूको बच्चाको वृद्धि र विकासको उमेरमा पक्का पनि फरक हुन्छ,’ उनले भने, ‘त्यसैले त यो मेच्योर्ड समय पनि तल–माथि अलि फरक हुन्छ।’
उनले आईएलओ महासन्धि १८२ ले बालश्रमका खराब स्वरूप तत्काल निषेध र उन्मूलन गर्नुपर्ने व्यवस्था गरेको भन्दै त्यसलाई पनि विधेयकमा समेटेर दफावार छलफलमा थप स्पष्ट पार्नुपर्ने बताए।
बालश्रमको सट्टा बालशिक्षण र बाल्यकाल संरक्षणलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले विधेयकको उद्देश्य बालबालिकालाई श्रममा प्रवेश गराउने नभई उनीहरूको अधिकार सुरक्षित गर्नु हुनुपर्ने धारणा राखे।
बालश्रमको कारण गरिबी पनि
सांसद सोम शर्माले बालश्रमको विषयलाई कानुनी प्रावधानमा मात्रै सीमित गरेर हेर्न नहुने बताए।
बालबालिकालाई काममा लगाउनुका कारण खोज्दा संरक्षणविहीनता, पारिवारिक आर्थिक अवस्था, शिक्षा र रोजगारको अभाव तथा बालबालिकाको दुरुपयोगजस्ता पक्ष देखिने उनको भनाइ छ।
उनले अभिभावकको संरक्षणबाट बाहिर रहेका बालबालिका, ग्रामीण क्षेत्रबाट पढाइका लागि भन्दै अन्य व्यक्तिको जिम्मामा पठाइएका बालबालिका र आर्थिक अभावका कारण काममा पठाइएका बालबालिकाको अवस्थालाई अलग-अलग रूपमा अध्ययन गर्नुपर्ने बताए।
‘बालबालिकाले आफ्नो जीवन राम्रो देख्न सकेन, अर्को चाहिँ परिवारले आफ्नो जीवन राम्रो देख्न सकेन,’ शर्माले बालश्रमको कारण विश्लेषण गर्दा देखिने दुई अवस्था उल्लेख गर्दै भने।
उनले ग्रामीण क्षेत्रका परिवारले आर्थिक अभावका कारण बालबालिकालाई काठमाडौं लगायतका सहरमा काम गर्न पठाउने अवस्था रहेको बताए। ‘यसो नगर्नुस् न भन्दा पनि उहाँहरूले किन नगर्ने? कि त तिमीहरूले खान देऊ, कि त हामीलाई पैसा देऊ। यहाँ परिवार पाल्न गाह्रो भइरहेको छ,’ ग्रामीण क्षेत्रका परिवारको बाध्यता सुनाउँदै शर्माले भने।
बालश्रम निषेध गर्ने कानुन बनाउनु आवश्यक भए पनि आर्थिक बाध्यतामा परेका परिवारलाई सरकारले संरक्षण र सहयोगको विश्वास दिलाउनुपर्ने उनको तर्क छ।
उनले बालश्रममा लगाउने नियतबाट भएका कामलाई कानुनले रोक्नुपर्ने तर आर्थिक बाध्यताका कारण बालबालिकालाई काममा पठाउने परिवारको अवस्था सुधार गर्न रोजगार र आर्थिक सुरक्षा आवश्यक रहेको बताए। ‘त्यस्ता व्यक्तिहरूलाई रोजगार पनि प्रबन्ध गर्न सकियो र सरकारले त्यसको इनिसिएसन लियो, विश्वासको वातावरण क्रिएट गरिदियो भने सम्भवतः ती बालश्रमलाई एक हदले रोक्न सकिन्छ’, उनले भने।
बालश्रम रोक्न परिवारको आर्थिक अवस्था कमजोर भएका नागरिकलाई रोजगारीको व्यवस्था गर्ने, सरकारले विश्वासको वातावरण बनाउने र बालबालिकालाई काममा पठाउन बाध्य हुने अवस्था अन्त्य गर्न पहल गर्नुपर्ने शर्माको सुझाव छ ।




























