सिड्नी । अस्ट्रेलियाको सिड्नीमा गाडीको अगाडिको सिसा र चालकसामुको भागमा सातवटा विद्युतीय उपकरण जडान गरेर सवारी चलाएको भेटिएपछि एक पुरुष चालक प्रहरी कारबाहीमा परेका छन्।
न्यु साउथ वेल्स राज्य प्रहरीका अनुसार सिड्नीको बेराला क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले लिडकम निवासी ती चालकको गाडी रोकेर जाँच गरेको थियो। जाँचका क्रममा गाडीको अगाडिको सिसा र चालकसामु रहेको भागमा मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण गरी सातवटा स्क्रिन जडान गरिएको फेला परेको हो।
तीमध्ये एउटा स्क्रिनमा युट्युब भिडियोसमेत चलिरहेको भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको तस्बिरमा पनि गाडीको अगाडिको भागमा विभिन्न स्थानमा मोबाइल फोन तथा अन्य स्क्रिनहरू जडान गरिएको देखिन्छ।
प्रहरीले अगाडिको सडक हेर्न अवरोध पुग्ने गरी उपकरण जडान गरेको र चालकको दृष्टिमा पर्ने स्थानमा भिडियो सञ्चालन गरेको भन्दै सवारी नियम उल्लङ्घनसम्बन्धी दुईवटा जरिवाना सूचना जारी गरेको छ।
सवारी चलाउँदा चालकको सम्पूर्ण ध्यान सडकमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै राज्य प्रहरीले यस्ता उपकरणले दुर्घटनाको जोखिम बढाउने चेतावनी दिएको छ। प्रहरीका अनुसार प्रतिघण्टा ५० किलोमिटरको गतिमा गुडिरहेको गाडीमा चालकले चार सेकेन्डसम्म सडकबाट आँखा हटाउँदा गाडी करिब ५५ मिटर अगाडि पुगिसकेको हुन्छ।
प्रहरीले चालकहरूलाई अगाडिको दृश्य छेक्ने गरी कुनै पनि उपकरण नराख्न र सवारी चलाउँदा भिडियो सामग्री नहेर्न आग्रह गरेको छ।





























