गोरखा।बूढीगण्डकीको बाढीबाट विस्थापित भएर त्रिपालमुनि आश्रय लिइरहेका गोरखाका परिवारहरू बेमौसमी हावाहुरीका कारण फेरि विचल्लीमा परेका छन्। मंगलबार बिहान आएको शक्तिशाली हावाहुरीले विस्थापित परिवारले टाँगेका त्रिपाल उडाएपछि उनीहरू पुनः खुला आकाशमुनि बस्न बाध्य भएका हुन्।
चुमनुब्री गाउँपालिका–३ जगतकी ४९ वर्षीया लालमाया गुरुङ गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट विस्थापित भएकी थिइन्। त्यसयता उनी जगत गाउँको एक कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बस्दै आएकी थिइन्। तर, मंगलबार बिहान आएको हावाहुरीले उनको त्रिपालसमेत उडाएपछि थप संकटमा परेकी छन्।
लालमायाका अनुसार बिहान करिब ३ बजेदेखि ठूलो हावाहुरी चलेको थियो। सुरुमा फेरि बाढी आएको आशंका गर्दै बाहिर हेर्न निस्किएकी उनी हावाहुरी भएको थाहा पाएपछि त्रिपालभित्र फर्केर सुतेकी थिइन्। केही समयपछि हावाहुरीले त्रिपाल नै उडाएपछि उनी फेरि खुला आकाशमुनि पुगेकी हुन्।
हावाहुरीले ओढ्ने, ओछ्याउने तथा लगाउने कपडासमेत उडाएर लगेको लालमायाले बताइन्। दिनको १ बजेसम्म पनि खाना पकाएर खान नसकेको भन्दै उनले आफूहरूको अवस्था निकै दयनीय बनेको दुखेसो पोखिन्। बाढीबाट सुरक्षित रहेका घरमा भाँडाकुँडा र खाद्यान्न राखिएकाले ती सामग्री भने जोगिएको उनले बताइन्।
स्थानीय विशाल घलेका अनुसार मंगलबार बिहानको हावाहुरीले जगतका तीन परिवार र पैँयु सल्लेरीका दुई परिवार बस्दै आएका त्रिपाल उडाएको छ। हावाहुरीका कारण ती परिवारलाई पुनः अस्थायी आवासको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ।
यसैबीच, मंगलबार बिहान आएको हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको भवनको छानासमेत उडाएको छ।




























