काठमाडौँ– भदौ १० गते आएको विनाशकारी भोटेकोशी-त्रिशूली बाढीको तीन महिनासम्म २०० भन्दा धेरै परिवार राहतकै पर्खाइमा रहेको पाइएको छ।
रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर- १ ठूलो हाकु, सानो हाकुलगायत गाउँका स्थानीयहरूलाई हालसम्म पनि सरकारले राहतसमेत नदिएको पाइएको हो।
सरकारले चार जनाको परिवार छ भने प्रतिपरिवार रु. १५ हजार मासिक खर्च दिने भनेको भएपनि आजसम्म २०० भन्दा बढी परिवारले पाउन सकेका छैनन्। बाढीले गाउँ सर्वनास गरेपछि कतिपय सरकारले बनाएको होल्डिङ सेन्टरमा र कतिपय आफन्तहरूकोमा आश्रय लिइरहेका छन्।
बाढीपीडित जीवन तामाङकाअनुसार बिस्तापित भएका करिब ९० परिवार हाल काठमाडौँस्थित सुन्दरीजलस्थित एक लामाको घरमा आश्रय लिइरहेका छन्।
१०० भन्दा बढी परिवारमध्ये कतिपय रसुवामै आफन्तको घरमा छन् भने केही सरकारले बनाएको नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका छन्। तर उनीहरूलाई सरकारले कुनै सहयोग नगरेको तामाङले बताए।
‘नुवाकोटतिरका बाढीपिडितलाई सरकारले दिने भनेको रकम पनि पाएका छन्। तर हामी आमाछोदिङमोका परिवारले पाएका छैनौँ’, उनले भने।
गृहमन्त्री सुधन गुरुङको सचिवालयका एक सदस्यलाई आफ्नो गाउँको अवस्थाबारे भन्दा पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ। ‘नम्बर पाएपछि गृहमन्त्रीको सचिवालयको व्यक्तिसँग कुरा गरेको थिएँ। उहाँले २ करोड छुट्याएको छ। पैसा दिन्छ भन्नु भएको थियो। तर आजसम्म पाइएको छैन’, उनको गुनासो छ।
तामाङले सरकारले राहत नदिएपछि आफ्नै पहलमा विभिन्न ठाउँमा ग्यासको चुलादेखि चामलसम्म, लुगा, कतिपयलाई पैसासमेत जुटाएर वितरण गर्नु परेको बताए। ‘सरकारले राहत नदिएपछि साथी-भाईहरूलाई भनेर चामल नहुनेलाई चामल, न्यानो लुगा, ग्याँस चुला सबै चाहिने सामान वितरण गरिएको छ। यतिले मात्र पुग्दैन। पैसा चाहिनेलाई पैसासमेत दिएका छौँ’, तामाङले भने।
उनले बाढी गएको लामाे समय हुँदा पनि सरकारका प्रतिनिधि आएर समन्वय नगरेको गुनासो गरे। ‘एक जना को आएर पीडितलाई भेटेको भन्ने छ। तर राहत दिने, कहिले घर जग्गा दिने भन्ने केही भनिएको छैन। त्यसले विस्तापित परिवार समस्यामा परेका छन्’, उनले भने।
तामाङले सरकारले दीर्घकालीन जग्गा उपलब्ध बनाउने, घर बनाउने कार्यको छिटो थालनी गर्नुपर्नेसमेत माग गरे।
आमाछोङमाे गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङले राहत वितरण गर्न नसकिएको बताइन्। उनले संघसंस्थाहरू नभएको भए बाढीपीडितले राहत नै नपाउने अवस्था रहेको जानकारी दिइन्।
‘लामा गुरु र विभिन्न संघसंस्था नआएको भए राहत पनि वितरण नहुने अवस्था रहेछ सर। उहाँहरूले गर्दा यहाँ राहत वितरण भएको छ। सरकारबाट केही आएको छैन’, उनले भनिन्।
केन्द्र सरकारले दिने भनेको मासिक १५ हजारसमेत पीडितलाई दिन नसकिएको र केन्द्रकै सरकारलाई पर्खि बस्नुपरेको उनको भनाइ छ।
उपाध्यक्ष तामाङले आफूहरूसँग केही अधिकार नरहेकोसमेत बताइन्। ‘हामी त केही गर्न सक्दैनौँ। माथिकै भर पर्नुमात्र हो’, उनले भनिन्।
भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले छ महिनासम्म चार जनाको परिवारसम्मलाई मासिक १५ हजार र त्यसभन्दा बढीको संख्यामा भए एक संख्या बारबर थप २ हजार दिने निर्णय गरेको थियो।
उक्त रकम पनि हालसम्म पीडितले नपाउनु सरकारको बाढीपीडितप्रतिको उदासिनता देखिन्छ।




























