नेपाल–न्युजिल्यान्ड आर्थिक सहकार्य विस्तार गर्न नयाँ रूपरेखा प्रस्तुत

 सिड्नी । नेपाल र न्युजिल्यान्डबीच व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले न्युजिल्यान्ड नेपाल वाणिज्य संघले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सवका अवसरमा आर्थिक सहकार्यको रूपरेखा सार्वजनिक गरेको छ ।

नोभेम्बर १८ मा अकल्यान्डमा आयोजित ‘नयाँ उचाइतर्फको यात्रा’ शीर्षकको कार्यक्रममा दुई देशबीच सरकारी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।

कार्यक्रम न्युजिल्यान्ड नेपाल वाणिज्य संघले न्युजिल्यान्डस्थित नेपाली राजदूतावास र अकल्यान्ड व्यापारिक मण्डलको सहकार्यमा आयोजना गरेको हो ।

कार्यक्रममा न्युजिल्यान्ड नेपाल वाणिज्य संघ र अकल्यान्ड व्यापारिक मण्डलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाका तर्फबाट संघका अध्यक्ष राज महर्जन र अकल्यान्ड व्यापारिक मण्डलकी प्रमुख सञ्चालन अधिकृत लेआ गेट्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

अनलाइनखबरसँग कुरा गर्दै संघका अध्यक्ष राज महर्जनले उक्त समझदारीले नेपाल र न्युजिल्यान्डका व्यवसायीबीच सम्बन्ध विस्तार तथा व्यापारिक अवसर सिर्जना गर्न नयाँ सम्भावनाको ढोका खोलेको बताए ।

उनका अनुसार संघले विगत दश वर्षमा निर्माण गरेको आधारलाई उपयोग गर्दै अब दुई देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क, व्यापारिक सहकार्य र लगानीका सम्भावना विस्तार गर्ने लक्ष्य लिएको छ ।

आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउन नेपाल र न्युजिल्यान्डबीच व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान आवश्यक रहेको पनि महर्जनले बताए ।

कार्यक्रममा क्यान्टरबरी विश्वविद्यालयका प्राध्यापक डा. राजेश ढकालले प्राविधिक क्षेत्रमा दुई देशका सरकारबीच हुन सक्ने सहकार्यबारे प्रस्तुति दिएका थिए ।

त्यस्तै, संघकी उपाध्यक्ष मन्दिरा रिमालले उच्च शिक्षा क्षेत्रमा दुई देशका व्यावसायिक संस्थाबीच सहकार्यका सम्भावनाबारे जानकारी गराएकी थिइन् । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले शुभकामना सन्देश पठाउँदै संघले एक दशकदेखि दुई देशबीच व्यावसायिक सम्बन्ध र आर्थिक सहकार्य सुदृढ बनाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

अकल्यान्डमा आयोजित कार्यक्रममा न्युजिल्यान्ड सरकारका विभिन्न निकायका प्रतिनिधि, व्यवसायी तथा सामुदायिक संस्थाका अगुवाहरु को सहभागिता रहेको थियो ।