आर्थिक अभावले जापानमा रोकिएको उपचार अब नेपालमै, २२ वर्षीया विष्णुको केएमसीमा निःशुल्क उपचार

काठमाडौँ । जापानमा मस्तिष्कघात भएर विगत ६ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएकी छन्। आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिन भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको हो।

सोमबार नेपाल आइपुगेकी विष्णुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा निःशुल्क उपचार सुरु गरिएको छ। उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालबाट डिस्चार्ज नहुँदासम्म आफूले व्यहोर्ने डा. शर्माले प्रतिबद्धता जनाएका छन्।

नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी विष्णुलाई स्वागत गर्न डा. शर्मा विशेषज्ञ चिकित्सकको टोली र एम्बुलेन्ससहित विमानस्थल पुगेका थिए। विमानस्थलबाट उनलाई सिधै केएमसी पुर्‍याएर भर्ना गरिएको हो। अस्पतालले उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी उपचार प्रक्रिया अघि बढाएको जनाएको छ।

नेपाल आइपुगेपछि विष्णुले आफू कहाँ रहेको भन्दै डा. शर्मालाई प्रश्न गरेकी थिइन्। जवाफमा उनले आफ्नै देशको काठमाडौं मेडिकल कलेजमा रहेको बताएपछि स्वदेश फर्किएको थाहा पाएर विष्णु भावुक बनेकी थिइन्।

डा. शर्माले चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार सेवा केएमसीमा निःशुल्क उपलब्ध गराउने बताएका छन्। आर्थिक अभावकै कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने उनको भनाइ छ।

रोजगारी र उज्ज्वल भविष्यको खोजीमा जापान पुगेकी विष्णुलाई अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। आर्थिक समस्याका कारण जापानमा उपचार जारी राख्न र नेपाल फर्किनसमेत उनलाई कठिनाइ भएको थियो।

डा. शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवामा संलग्न छन्। उनले आर्थिक अवस्था कमजोर भएका तथा उपचार खर्च जुटाउन नसक्ने बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएको जनाइएको छ।