काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गर्दै चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्ने दाबी गरेका छन्।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य महत्वाकांक्षी भए पनि हासिल गर्न सकिने बताए।
उनका अनुसार गत आर्थिक वर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा राजस्व संकलनको हिस्सा अपेक्षाकृत कम रहेको उल्लेख गर्दै उनले यस वर्ष लक्ष्य वृद्धि गरिएको बताए।
कोभिड महामारीपछि राजस्व वृद्धिदर औसत ७ देखि ९ प्रतिशतमा सीमित रहेको भन्दै अर्थमन्त्री वाग्लेले अपेक्षित लक्ष्य हासिल गर्न राजस्व संकलनको गति तीव्र बनाउनुपर्ने बताए।
उनले राजस्व प्रणालीलाई प्रभावकारी बनाउन सरकार सक्रिय रूपमा अघि बढ्ने र निजी क्षेत्रका सुझाव तथा गुनासा सम्बोधन गर्न तयार रहेको स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता आवश्यक रहेको उल्लेख गर्दै पटक–पटक नीतिगत परिवर्तन गर्दा निजी क्षेत्रमा अन्योल सिर्जना हुने बताए। आवश्यक सुधार गर्दै निजी क्षेत्रलाई स्थिर नीतिगत वातावरण दिनुपर्ने उनको जोड थियो।
उनले सुशासन, नीतिगत सुधार र सरकार–निजी क्षेत्रबीचको सहकार्यबाट महत्वाकांक्षी राजस्व लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।





























