चितवनमा दशैं–तिहारमा सडक दुर्घटना घटे, ट्राफिक कारबाही र राजस्व दोब्बरभन्दा बढी

चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको छ । तर, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना राजस्व भने उल्लेख्य रूपमा बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु र १०१ जना घाइते भएका छन् ।

यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही पनि बढेको छ । गत वर्ष एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए भने चालु वर्ष यो सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । जरिवानाबापत सङ्कलित राजस्व पनि ९ लाख २४ हजार ५३१ रुपैयाँबाट बढेर १७ लाख ७२ हजार ५०० रुपैयाँ पुगेको छ ।

यद्यपि, मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने घटेको छ । गत वर्ष ६९ जनामाथि कारबाही गरी ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएकोमा यस वर्ष ५६ जनामाथि कारबाही हुँदा ३० हजार रुपैयाँ सङ्कलन भएको छ ।

त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत वर्ष कुनै कारबाही नभएकामा यस वर्ष २४ जनामाथि कारबाही गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार चाडपर्व लक्षित कडा चेकजाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही र जनचेतनामूलक कार्यक्रमका कारण दुर्घटना तथा मानवीय क्षति घटाउन सहयोग पुगेको हो ।

उनले चाडपर्वमा मात्रै नभई अन्य समयमा पनि ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन चालकलाई आग्रह गरेका छन् । सुरक्षित यात्रालाई प्राथमिकता दिनसमेत उनले चालक तथा यात्रुलाई अनुरोध गरेका छन् ।