काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।
सोमबार राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई राजदूत नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त तीनै जना राजदूतलाई राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथसमेत गराएका छन् ।
यसअघि गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो ।
भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको अग्रिमो प्राप्त भएपछि नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।




























