काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफको प्रतिस्पर्धा रोमाञ्चक बन्दै जाँदा केही चर्चित विदेशी खेलाडी भने प्रतियोगिता नसकिँदै स्वदेश फर्किएका छन्।
डेभिड वार्नर, आन्द्रे रसेल, मोइन अली र शाकिब अल हसनजस्ता स्टार खेलाडीले बीचमै प्रतियोगिता छाड्दा फ्रेन्चाइज टोलीहरूको टिम सन्तुलनमा समेत असर परेको छ।
केही खेलाडी अन्य फ्रेन्चाइज लिग खेल्न फर्किएका छन् भने केही राष्ट्रिय टोलीको जिम्मेवारी र व्यक्तिगत कारणले बाहिरिएका हुन्।
जनकपुर बोल्ट्स सबैभन्दा बढी प्रभावित
जनकपुर बोल्ट्सका मोइन अलीले चार खेलमा १०८ रन बनाउँदै राम्रो प्रदर्शन गरे। उनले काठमाडौंविरुद्ध अविजित ५८ रन बनाएका थिए। तर अबुधाबी टी–१० लिग खेल्न फर्किएपछि जनकपुरले उनको विकल्पमा सन्तुलित खेलाडी पाउन सकेन।
यस्तै परवेज हुसेन इमोन र कुशल परेरा पनि बीचमै फर्किए। इफ्तिखर अहमद र हुनैन शाहले एनओसी विवादका कारण प्रतियोगिता खेल्न पाएनन्।
रसेलको बिदाइले विराटनगरलाई धक्का
विराटनगर किंग्सका आन्द्रे रसेलले पाँच खेलमा १५८ रन बनाउनुका साथै ६ विकेट लिए। उनको अलराउन्ड प्रदर्शन विराटनगरका लागि महत्वपूर्ण बनेको थियो। रसेल फर्किएपछि विराटनगरले उनको स्थानमा श्रीलंकाका इसुरु उडानालाई टोलीमा भित्र्याएको छ।
वार्नरको प्रदर्शन सम्झनलायक
काठमाडौं गोर्खाजबाट खेलेका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नरले एक अर्धशतकसहित १२७ रन बनाए। उनले लुम्बिनीविरुद्ध ६६ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए। वार्नरको आगमनपछि काठमाडौंले लगातार चार खेल जितेको थियो।
पोखराबाट शाकिब र सैफुद्दिन बाहिरिए
पोखरा एभेन्जर्सका शाकिब अल हसनले तीन खेलमा २६ रन बनाउनुका साथै चार विकेट लिए। मोहम्मद सैफुद्दिनले भने एक खेलमा एक विकेट लिए। दुवै खेलाडी प्रतियोगिताको बीचमै बाहिरिएपछि पोखरालाई थप चुनौती भएको छ।
अन्य टोली पनि प्रभावित
काठमाडौंका रिपोन मोन्डोल बीचमै फर्किए भने केएस भरत नेपाल नै आएनन्। चितवन राइनोजका पाकिस्तानी खेलाडी एनओसी विवादका कारण खेल्न पाएनन्। कर्णाली याक्सका शाहिबजादा फरहान पनि एक खेल नखेली फर्किए।
सुदूरपश्चिम रोयल्सका शेरफान रदरफोर्डले चार खेलमा ३० रन मात्र बनाउन सके। उनी पनि अबुधाबी टी–१० लिग खेल्न फर्किएका छन्।
यता, साविक विजेता लुम्बिनी लायन्सले आफ्ना विदेशी खेलाडीलाई निरन्तरता दिन सफल हुँदा टिमको सन्तुलन कायम राख्न सहज भएको छ।
स्टार खेलाडी अनुबन्ध गरेर मात्र पुग्दैन
एनपीएलमा विश्वचर्चित खेलाडीहरूको आगमनले प्रतियोगिताको आकर्षण र प्रतिस्पर्धा बढाएको छ। तर प्रतियोगिताको बीचमै स्टार खेलाडी बाहिरिँदा टोलीको प्रदर्शन र दर्शकको अपेक्षामा असर परेको छ।
यसले आगामी संस्करणमा विदेशी खेलाडी अनुबन्ध गर्दा उनीहरूको उपलब्धता, प्रतिबद्धता र प्रतियोगिताभर खेल्ने सुनिश्चिततालाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको छ।





























