काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्।
खेलमा पोखरा एभेन्जर्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। लगातार दोस्रो डे गेममा पोखराले टस जितेर ब्याटिङ रोजेको हो।
आजको खेलमा दुवै टोलीले आफ्नो प्लेइङ–११ मा केही परिवर्तन गरेका छन्। विराटनगर किंग्सले तीन खेलाडी परिवर्तन गरेको छ। आन्द्रे रसेल र शुभम रन्जानेको स्थानमा इसुरु उडाना र चरिथ असालंका टोलीमा परेका छन् भने नारायण जोशीको स्थानमा प्रतिश जिसीले मौका पाएका छन्।
यता, पोखरा एभेन्जर्सले पनि दुई परिवर्तन गरेको छ। विवेक राना मगरको स्थानमा सागर ढकाल र महेदी हसनको स्थानमा रमेश मेन्डिसलाई प्लेइङ–११ मा समावेश गरिएको छ।
आजको खेलसँगै विराटनगरका इसुरु उडाना र पोखराका रमेश मेन्डिसले एनपीएलमा डेब्यु गर्दैछन्। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।





























