काभ्रेमा २ हजार ६०२ जनाको नाम मतदाता नामावलीबाट हटाइयो, मृत्यु भएका १ हजार ४०२

बनेपा । काभ्रे जिल्लामा मतदाता नामावली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका, दोहोरो दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका गरी कुल २ हजार ६०२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ। जिल्ला निर्वाचन कार्यालय काभ्रेले नामावलीलाई व्यवस्थित, अद्यावधिक र त्रुटिरहित बनाउने क्रममा उक्त नाम हटाएको हो।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरका अनुसार हटाइएकामध्ये मृत्यु भएका १ हजार ४०२, दोहोरो दर्ता भएका १ हजार १९८ र नागरिकता परित्याग गरेका दुई जना छन्। मृत्यु भएका मतदाताको नाम सबैभन्दा बढी भुम्लु गाउँपालिकाबाट ३७५ जनाको हटाइएको छ। त्यस्तै, पनौती नगरपालिकाबाट २९६, नमोबुद्ध नगरपालिकाबाट २८१, बनेपा नगरपालिकाबाट २४०, धुलिखेल नगरपालिकाबाट ९७, महाभारत गाउँपालिकाबाट ६५, पाँचखाल नगरपालिकाबाट ३४ र बेथानचोक गाउँपालिकाबाट १४ जनाको नाम हटाइएको छ।

दोहोरो दर्तातर्फ पनौती नगरपालिकामा सबैभन्दा बढी १४१ जनाको नाम हटाइएको छ। चौँरीदेउरालीमा ११८, नमोबुद्धमा १०९, पाँचखालमा १०४, मण्डनदेउपुरमा १०१, रोशीमा ९९, तेमालमा ८२, धुलिखेल र बनेपामा ८०–८०, बेथानचोकमा ७४, भुम्लुमा ७२, महाभारतमा ७० तथा खानीखोलामा ६८ जनाको नाम हटाइएको हो। नागरिकता परित्याग गरेका कारण पनौती र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम हटाइएको सूचना अधिकारी मानन्धरले जानकारी दिए। तीनै कारणबाट हटाइएका नामको कुल सङ्ख्या भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ४४७ र पनौती नगरपालिकामा ४३८ रहेको छ। त्यसैगरी नमोबुद्धमा ३९०, बनेपामा ३२०, धुलिखेलमा १७७, पाँचखालमा १३८, महाभारतमा १३५, चौँरीदेउरालीमा ११८, मण्डनदेउपुरमा १०२, रोशीमा ९९, बेथानचोकमा ८८, तेमालमा ८२ र खानीखोलामा ६८ जनाको नाम हटाइएको छ।