काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष कडाइ गर्ने भएको छ। सवारी साधनको बाटो इजाजत (रुट परमिट) का साथै अब प्रत्येक सार्वजनिक सवारीमा चालु अवस्थाको अग्नि नियन्त्रक यन्त्र (Fire Extinguisher) राख्न अनिवार्य गर्ने तयारी थालिएको छ।
यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीले सम्बन्धित निकायहरूसँगको समन्वयमा सार्वजनिक सवारीको भौतिक अवस्था, आवश्यक कागजात, रुट परमिट र सुरक्षा उपकरणको नियमित अनुगमन तथा परीक्षण गर्ने रणनीति बनाएको छ।
किन अनिवार्य गरिँदैछ अग्नि नियन्त्रक यन्त्र? काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (SSP) सुरेशप्रसाद काफ्लेका अनुसार सवारी साधनमा विद्युतीय वा प्राविधिक खराबी तथा इन्धन चुहावटका कारण जुनसुकै बेला आगलागीको जोखिम हुन सक्छ। “सम्भावित दुर्घटना वा आगलागीलाई प्रारम्भिक अवस्थामै नियन्त्रण गरी ठूलो क्षति हुन नदिन सवारीमै अग्नि नियन्त्रक उपकरण राख्न आवश्यक छ,” एसएसपी काफ्लेले भने, “सबै सार्वजनिक सवारीमा यो नियम कडाइका साथ लागू गरिनेछ।”
रुट परमिट र कागजातमा पनि कडाइ तोकिएको रुटभन्दा बाहिर वा आवश्यक कागजातविना नै सार्वजनिक सवारी चलाउने गरिएको गुनासो बढेपछि प्रहरीले रुट परमिटको पालनामा समेत कडाइ गर्न लागेको हो।
ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले सार्वजनिक सवारी साधनको अवस्था, चालकको क्षमता, आवश्यक कागजात, रुट परमिट र अग्नि नियन्त्रक यन्त्रको प्रयोगयोग्यताबारे क्षेत्रगत रूपमा नियमित अनुगमन गरिने जानकारी दिए। “अनुगमनका क्रममा तोकिएका सुरक्षा मापदण्ड पूरा नगरेको पाइएमा सवारीसाधनलाई कडा कारबाहीको दायरामा ल्याइनेछ,” सुवेदीले स्पष्ट पारे।
चाडपर्वमा जोखिम न्यूनीकरणको प्रयास चाडपर्व तथा विशेष समयमा सार्वजनिक यातायातमा यात्रुको चाप उच्च हुने र सवारी साधनको आवागमन समेत बढ्ने गर्दछ। यस्तो अवस्थामा सम्भावित दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको ट्राफिक प्रहरीको भनाइ छ।
ट्राफिक प्रहरीले सम्पूर्ण सार्वजनिक सवारी धनी, चालक तथा यातायात व्यवसायीहरूलाई प्रचलित कानुन र सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्न अपिल गरेको छ। साथै, यात्रुको सुरक्षासँग जोडिएका संवेदनशील विषयमा लापरबाही नगर्न र सवारी साधनको नियमित मर्मतसम्भार तथा परीक्षण गर्न समेत आग्रह गरिएको छ।






























