सियोल । के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ ।
ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड वन दान गरेका हुन् ।
सोल पुनस्र्थापना अस्पताललाई दिइएको रकम बिरामीको उमेर र स्वास्थ्य अवस्थाअनुसार विशेषीकृत पुनस्र्थापना केन्द्र स्थापना गर्न प्रयोग हुनेछ । युनिसेफ कोरियालाई दिइएको रकमचाहिँ नेपालमा हालै आएको ठूलो बाढीबाट प्रभावित समुदायको पुनर्लाभका कार्यमा खर्च हुनेछ ।
जेवाईपी इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमार्फत ब्याङ चानले भने, ‘थकाइलाग्दो र कठिन समयबाट गुज्रिरहेकालाई सानै भए पनि सान्त्वना दिन चाहेको थिएँ’ उनले थपे, ‘धेरैभन्दा धेरै मानिस सकेसम्म चाँडो शान्त दैनिक जीवनमा फर्कन सकून् भन्ने हार्दिक कामना गर्छु ।’
ब्याङ चानले पछिल्ला वर्षहरूमा निरन्तर दान गर्दै आएका छन् ।
गत वर्ष अक्टोबर ३ मा आफ्नो जन्मदिनको अवसरमा उनले बाल बिरामीको उपचार खर्चका लागि स्यामसङ मेडिकल सेन्टरलाई १० करोड वन र विश्वभरका बालबालिकाका लागि युनिसेफ कोरियालाई थप १० करोड वोन दान गरेका थिए ।
सन् २०२४ मा उनले अपाङ्गता भएका व्यक्तिका लागि कम्युनिटी चेस्ट अफ कोरियालाई १० करोड वन दान गरेका थिए । सोही क्रममा उनी उक्त संस्थाको ठूला दाताहरूको समूह ‘अनर सोसाइटी’ का सदस्य बनेका थिए ।
उनी स्ट्रे किड्सका अन्य सदस्यसँगै विपद् राहतका कार्यमा पनि सहभागी भएका छन् । सन् २०२५ मा समूहले उत्तर र दक्षिण ग्योङसाङ प्रान्तमा लागेको डढेलोबाट भएको क्षतिको पुनर्लाभका लागि होप ब्रिज कोरिया डिजास्टर रिलिफ एसोसिएसन र वल्र्ड भिजनलाई सहयोग गरेको थियो ।
दानका कामबाहेक ब्याङ चान गीतकार तथा निर्मातााका रूपमा पनि सक्रिय छन् । उनी सदस्य चाङबिन र हानसहितको स्ट्रे किड्सको आन्तरिक निर्माता समूह ‘थ्रीराचा’ का सदस्य हुन् । कोरिया म्युजिक कपिराइट एसोसिएसनका अनुसार उनी २४४ गीतमा प्रतिलिपि अधिकार स्वामित्वकर्ताको रुपमा दर्ता छन्, जुन के-पप आइडलमध्ये सबैभन्दा बढी हो भन्ने जेवाईपी इन्टरटेनमेन्टले जनाएको छ ।
यसैबीच स्ट्रे किड्सले आफ्नो ‘रन इट’ विश्व भ्रमण जारी राखेको छ । समूहले ल्याटिन अमेरिकाका तीन स्थानमा आयोजना हुने आफ्नै नेतृत्वको महोत्सव परियोजना ‘स्ट्रेसिटी’ अन्तर्गत सेप्टेम्बर २५ र २६ मा मेक्सिको सिटीमा प्रस्तुति दिने कार्यक्रम छ ।
सेप्टेम्बर ९ मा बोगोटाबाट सुरु भएको यो भ्रमणअन्तर्गत समूहले सोमबार र मंगलबार ब्युनोस आयर्समा दुई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो ।






























