काठमाडौँ । विधायन व्यवस्थापन समिति सभापति कृष्णबहादुर रोकायले राष्ट्रिय सभाले सरकारले ल्याएका विधेयकलाई सकारात्मक रूपमा लिएर छिटो अघि बढाउने र आवश्यक सुधारसहित अझ उत्कृष्ट कानून बनाउने गरी काम गर्ने बताएका छन् ।
मंगलवार राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सभापति रोकायले सरकारले राष्ट्रिय सभामा पेश गर्ने विधेयकलाई सदनले सरकारलाई सहयोग गर्ने भावनाका साथ अघि बढाइरहेको बताएका हुन्।
उनले सरकारले राष्ट्रिय सभाले विधेयकलाई अवरोध गर्ने गरेको भन्ने धारणा नराख्न आग्रह गर्दै राष्ट्रिय सभाले विधेयकलाई थप राम्रो, समृद्ध र उत्कृष्ट बनाउने उद्देश्यले काम गरिरहेको बताए । सभापति रोकायले सरकारले पेश गरेका विधेयकलाई जतिसक्दो छिटो टुंग्याउने गरी समितिले काम गरिरहेको जानकारी दिए। हाल छलफलमा रहेको विधेयकलाई समेत करिब तीन वटा बैठकभित्र टुंग्याउने योजना रहेको उनले बताए । उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा आउने तथा सरकारले सिधै राष्ट्रिय सभामा दर्ता गर्ने दुवै प्रकारका विधेयकलाई समितिले गम्भीरतापूर्वक अघि बढाउने बताए ।
उनले भने, ‘ हिजो मुख्य चाडपर्वको दिन हुँदाहुँदै पनि हामी बिहान ८ बजेदेखि बैठकमा बसेर काम गर्यौँ । शनिवार-आइतबार पनि यही ढंगले काम गरिरहेका छौँ । त्यसैले सरकारलाई म आग्रह गर्न चाहन्छु–राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेका विधेयकलाई राष्ट्रिय सभाले सकारात्मक रूपमा लिएर अझ राम्रो, परिमार्जित र उत्कृष्ट कानुन बनाउन सहयोग गर्छ भन्ने कुरा सरकारले बुझ्न आवश्यक छ । बाहिर विभिन्न किसिमका धारणा आइरहेका छन् । माननीय मन्त्रीज्यूले पनि यस समितिको कामबाट त्यसको अनुभूति गर्नुभएको छ भन्ने मलाई लाग्छ। माननीय मन्त्रीज्यू पहिलो पटक आउनुहुँदा एउटा विधेयक लामो समयदेखि बाँकी थियो, त्यसलाई हामीले पारित गर्यौँ। अहिले उहाँले दोस्रो विधेयक यहाँ प्रस्तुत गर्नुभएको छ र त्यसको काम पनि आजबाट सुरु गरेका छौँ । हामीले यस विधेयकलाई करिब तीन वटा बैठकभित्र टुङ्ग्याउने योजना बनाएका छौँ । त्यसैले प्रतिनिधि सभाबाट पारित भएर आएका वा सरकारले राष्ट्रिय सभामा दर्ता गरेका जुनसुकै विधेयकलाई सकेसम्म छिटो अघि बढाउँदै सरकारले ल्याएकोभन्दा अझ राम्रो, समृद्ध र उत्कृष्ट कानून बनाउनेतर्फ हामी सचेत र सजग छौँ । यस कार्यमा विधायन समितिले इमानदारीपूर्वक र जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता पनि म यस सम्मानित सदनसमक्ष व्यक्त गर्न चाहन्छु ।’
राष्ट्रिय सभाले सरकारका विधेयक पारित गर्न मात्र नभई आवश्यक सुधार र परिमार्जन गरी गुणस्तरीय कानून निर्माणमा सहयोग गर्ने उनको भनाइ छ । सभापति रोकायले विधायन व्यवस्थापन समितिले कानून निर्माणको प्रक्रियालाई प्रभावकारी बनाउन इमानदारीपूर्वक काम गरिरहेको समेत बताए ।






























