काठमाडौँ — प्रसिद्ध गायक उदितनारायण झाको परिवारले भोटेकोशी बाढी तथा पहिरो प्रभावितका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। पीडितहरूको राहत तथा उद्धारका लागि उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
गायक झाकी धर्मपत्नी दीपानारायण र छोरा आदित्यनारायणको तर्फबाट साधना कला केन्द्रमार्फत सहयोग रकम प्रदान गरिएको हो। सहयोगस्वरूपको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी-पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै झा परिवारले पीडितको पुनःस्थापनामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ। लामो समयदेखि नेपाली र भारतीय सांगीतिक क्षेत्रमा सक्रिय झा परिवार हाल मुम्बईमा बस्दै आएको छ।





























