दशैंमा आउन लागेको फिल्म ‘आबाट आमा २’ को पहिलो झलक सार्वजनिक

काठमाडौँ — “चर्किएको यो घरले फेरि सोध्यो, यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा??” भन्ने मर्मस्पर्शी नाराका साथ बहुप्रतिक्षित नेपाली फिल्म ‘आबाट आमा २’ को पहिलो आधिकारिक पोस्टर (फर्स्ट लुक) सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण पक्षले सार्वजनिक गरेको उक्त पोस्टरले नेपाली समाजको तीतो यथार्थ—चाडपर्वका बेला घरपरिवारबाट टाढा हुनुको पीडा, आमाको पर्खाइ र खस्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।

पोस्टरको पृष्ठभूमिमा देखाइएका फुटेका सिसा र पुराना तस्बिरहरूले भत्किँदै गएको पारिवारिक संरचना र छिन्नभिन्न सम्झनाहरूलाई सङ्केत गर्छन्। एक दृश्यमा वरिष्ठ कलाकार प्रदीप रावत र विपना थापा अँगालो हालेर रोइरहेका छन् भने उनीहरूमाथि उडिरहेको हवाइजहाजले रोजगारीका लागि मुग्लानसिनिन बाध्य नेपाली युवा र घरमा छुटेका अभिभावकको कथा बोलेको छ। अर्को भागमा फिल्मका मुख्य कलाकार पल शाह र साइग्रेस पोखरेललाई प्रस्तुत गर्दै विगतका मीठा स्मृतिहरूलाई झल्काइएको छ।

चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्म गत वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’को दोस्रो शृङ्खला हो। फिल्ममा पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडाजस्ता दिग्गज तथा लोकप्रिय कलाकारहरूको अभिनय रहेको छ। पारिवारिक भावना र सामाजिक विषयवस्तुमा आधारित यो फिल्म आगामी असोज ३० गते (फूलपातीको अघिल्लो दिन) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।