काठमाडौं । गृह मन्त्रालयले स्वीकृत गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ ले मन्त्रालय मातहतको कर्मचारी संरचनामा महत्वपूर्ण फेरबदल गरेको छ। नयाँ संरचना अनुसार कुल दरबन्दी ४ हजार ४८२ बाट बढेर ४ हजार ६११ पुगेको छ।
कुल दरबन्दी बढाइए पनि प्रशासनको उच्च तहमा भने कटौती गरिएको छ। सहसचिवको दरबन्दी ७५ बाट ६६ मा झारिएको छ भने सचिवको एक पद यथावत् राखिएको छ। यसको विपरीत उपसचिवको दरबन्दी १५५ बाट बढाएर १६१ पुर्याइएको छ।
मन्त्रालयले सेवा प्रवाह र दैनिक प्रशासनिक काममा बढी जनशक्ति आवश्यक पर्ने भन्दै कार्यान्वयन तहका पदमा दरबन्दी थप गरेको जनाएको छ। शाखा अधिकृतको संख्या ५९१ बाट ६४४ पुगेको छ। नायब सुब्बाको दरबन्दी पनि १ हजार ३७० बाट बढाएर १ हजार ४२१ कायम गरिएको छ।
त्यस्तै, खरिदारतर्फ तीन पद थपिएका छन्। यसअघि ७१४ रहेको दरबन्दी अब ७१७ पुगेको छ। स्वास्थ्य सेवातर्फ आठ पद थपिएपछि दरबन्दी १३८ बाट १४६ पुगेको छ।
श्रेणीविहीन कर्मचारीतर्फ पनि १७ पद थप गरिएको छ। यससँगै उक्त समूहको दरबन्दी १ हजार ४३८ बाट बढेर १ हजार ४५५ पुगेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नयाँ ओएण्डएम प्रतिवेदन स्वीकृत भइसकेको छ। यद्यपि नयाँ दरबन्दीअनुसारको संरचना भने अहिलेसम्म कार्यान्वयनमा आइसकेको छैन। आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
नयाँ पुनर्संरचनाले गृह प्रशासनमा निर्णय तथा नेतृत्व तहको संख्या घटाउँदै सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएका पदमा जनशक्ति बढाउने रणनीति अपनाएको देखिन्छ। शाखा अधिकृत, नायब सुब्बा र सहयोगी तहमा गरिएको विस्तारले मातहतका कार्यालयको कार्यसम्पादन तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।





























