काठमाडौं — पूर्वी जिल्ला तर्फ जाने सवारी साधनमा सिट मिलाइ दिने बहानामा यात्रुलाई ताना तान गर्दै हैरानी दिएको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट १० जना बिचौलिया लाई पक्राउ गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाह पथ बाट खटिएको टोलीले विशेष निगरानीका क्रममा उनी हरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले कोटेश्वर बाट जनकपुर, महोत्तरी लगायत गन्तव्यमा जाने ईभी माइक्रोबस तथा सुमोमा यात्रु चढाइ दिए बापत कमिसन लिने र यात्रुलाई अनावश्यक दबाब दिने गरेको आरोप छ।
पक्राउ पर्नेमा धनुषाका सूर्य बहादुर देवकोटा, दोलखाका प्रकाश सिवाकोटी र खड्क बहादुर तामाङ, भक्तपुरका हरि भजन थापा र डिल्ली प्रसाद लामिछाने, सिन्धुपाल्चोकका सुरेश तामाङ र राजेश सापकोटा, सिन्धुलीका तिलक कुमार थापा, डोर कुमार श्रेष्ठ तथा ओखलढुंगाका नन्द लाल बुढाथोकी रहेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार यात्रुलाई दुःख दिने तथा सार्वजनिक यातायात क्षेत्रमा अव्यवस्था सिर्जना गर्ने गति विधि विरुद्ध अभियान सञ्चालन गरिएको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


























