काठमाडौं — कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन्। कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट उनलाई उक्त जिम्मेवारी दिइएको हो।
नवनियुक्त महाप्रबन्धक पाण्डेले पदभार ग्रहण गरेसँगै संस्थानको मुख्य समस्याका रूपमा रहेको दुग्ध किसानको भुक्तानीलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। उनले करिब ५० करोड रुपैयाँ बराबरको बक्यौता तीन महिनाभित्र भुक्तानी गर्ने योजना सार्वजनिक गरेका छन्।
इमान्दारिता र सुशासनमा स्थापित छवि बनाएका पाण्डे यसअघि बागमती, मधेश र कोशी प्रदेशमा प्रदेश सचिवको रूपमा सफल नेतृत्व सम्हालिसकेका अनुभवी प्रशासक हुन्।
उनले आगामी दिनमा दूध खरिद गरेको १०–१५ दिनभित्रै किसानलाई भुक्तानी हुने गरी नियमित पेमेन्ट प्रणाली विकास गर्ने लक्ष्य लिएका छन्। साथै उत्पादनको गुणस्तर सुधार, बिक्री केन्द्र विस्तार र उपभोक्ताको विश्वास पुनः स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
डा. पाण्डेको नियुक्तिसँगै डीडीसीलाई घाटाबाट मुक्त गर्दै किसान र उपभोक्तामैत्री संस्थाका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।






























