अमेरिकासँग कुनै पनि प्रकारको युद्धुको लागि तयार छौँ : चीन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर बढाउने निर्णयको जवाफ दिँदै चीनले अमेरिकालाई ‘कुनै पनि प्रकारको युद्ध’का लागि तयार रहेको चेतावनी दिएको छ । ट्रम्पले सबै चिनियाँ सामानमा कर बढाएपछि विश्वका दुई शीर्ष अर्थतन्त्रहरूबीच ‘व्यापार युद्ध’को जोखिम बढेको हो । चीनले जवाफस्वरुप अमेरिकी कृषि उत्पादनमा १०-१५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकास्थित चिनियाँ दूतावासले मंगलबार सामाजिक सञ्जालमा एक पोस्टमा लेखेको छ, ‘चाहे त्यो करको युद्ध होस् वा व्यापार युद्ध होस् या अन्य कुनै युद्ध । यदि, अमेरिका युद्ध चाहन्छ भने हामी यसको अन्त्यसम्म लड्न तयार छौँ ।’ ट्रम्प राष्ट्रपति बनेपछि चीनको तर्फबाट आएको यो सबैभन्दा कडा वक्तव्य हो । यो त्यस्तो समयमा आएको छ, जब चिनियाँ नेताहरू राष्ट्रिय जनकांग्रेसको वार्षिक सत्रका लागि बेइजिङमा भेला भएका छन् ।

चीनको चेतावनी

चिनियाँ प्रधानमन्त्री ली केकियाङले बुधबार चीनले यसवर्ष आफ्नो रक्षा खर्च ७.२ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका थिए । उनले भने, ‘विश्वभर तीव्र गतिमा यस्ता परिवर्तनहरू भइरहेका छन्, जो एक शताब्दीमा कहिल्यै देखिएको थिएन ।’ बेइजिङका नेताहरू चिनियाँ जनतालाई अमेरिकासँग व्यापार युद्धको खतरा बाबजुद पनि देशको अर्थतन्त्र बढ्नसक्छ भन्ने सन्देश पठाउन खोजिरहेका छन् । यसमा उनीहरू विश्वस्त छन् ।

अमेरिकाको तुलनामा आफ्नो छवि स्थिर र शान्तिपूर्ण देशको रूपमा प्रस्तुत गर्न चीन चाहिरहेको छ । बीबीसीका अनुसार, चीनले ट्रम्पको निर्णयसँगै क्यानडा र मेक्सिको जस्ता अमेरिकी सहयोगीहरूमा पर्नसक्ने प्रभावलाई आफ्नो फाइदामा परिणत गर्ने आशा गर्न सक्छ । तर, चीन आफ्ना वक्तव्यवाजीलाई एक हदभन्दा बढाउन चाहँदैन । किन भने ऊ आफ्ना सम्भावित नयाँ विश्वव्यापी साझेदारहरूलाई तर्साउन चाहँदैन ।

चीनले पहिले पनि युद्धका लागि तयार रहेको बताइसकेको छ । गतवर्ष अक्टोबरमा राष्ट्रपति सी चिनफिङले ताइवान वरिपरि सैन्य अभ्यासको क्रममा सेनालाई युद्धका लागि तयार रहन आग्रह गरेका थिए । वासिङ्टनस्थित चिनियाँ दूतावासले एक दिनअघि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उदृत गर्दै अमेरिकाले फेन्टानिल औषधि तस्करीका लागि चीनलाई अनावश्यक रूपमा दोषारोपण गरिरहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चिनियाँ उत्पादनहरूको आयातमा अमेरिकी शुल्क बढाउन फेन्टानिल मुद्दा एउटा कमजोर बहाना हो ।’

चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, “हामी धम्कीबाट डराउने छैनौँ । धम्कीले हामीमा कुनै प्रभाव पार्दैन । दबाब, जबरजस्ती वा धम्की चीनसँग व्यवाहार गर्ने सही तरिका होइन ।”

अमेरिकी जवाफ

चीनको कडा प्रतिक्रियाबारे अमेरिकी रक्षामन्त्री पिट हेगसेटले फक्स न्यूजको कार्यक्रममा भने, ‘हामी तयार छौँ । शान्ति चाहनेहरूले युद्धका लागि पनि तयार हुनुपर्छ ।’ यसैकारण अमेरिकाले आफ्नो सेनालाई बलियो बनाइरहेको र प्रतिरोध क्षमता पुनस्र्थापित गरिरहेको उनको भनेका छन्। ‘हामी एउटा खतरनाक संसारमा बाँचिरहेका छौँ, जहाँ धेरै फरक विचारधारा भएका शक्तिशाली र अगाडि बढिरहेका देशहरू छन्,” अमेरिकी रक्षामन्त्री हेगसेटले भनेका छन्, ‘तिनीहरू द्रूत गतिमा आफ्नो रक्षा खर्च बढाउँदैछन् । आफ्नो प्रविधि अपग्रेड गर्दैछन् । तिनीहरू अमेरिकालाई प्रतिस्थापन गर्न चाहन्छन् ।’ रक्षामन्त्रीको हैसियतमा आफूले अमेरिका तयार रहेको बताउनुपर्ने बताएका छन् । रक्षा खर्च, क्षमता, हतियार र स्थिति कायम राख्नुपर्ने उनले प्रष्ट पारेका छन् ।

अमेरिका–चीन सम्बन्ध

अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयको सामाजिक सञ्जाल एक्समा जारी गरेको वक्तव्यलाई ठूलो मात्रामा सेयर गरिएको छ । बेइजिङ विदेश र आर्थिक मामिलामा वाशिङ्टनको सबैभन्दा ठूलो खतरा हो भनी ट्रम्पको मन्त्रिपरिषद्मा रहेका चीन विरोधी व्यक्तिहरूले यसलाई प्रमाणको रुपमा पेस गर्न सक्ने बताइएको छ ।

चिनियाँ अधिकारीहरूले ट्रम्पको शासनकालमा अमेरिका-चीन सम्बन्ध सुधार हुने आशा गरेका थिए । ट्रम्पले आफ्नो शपथग्रहण समारोहमा सी चिनफिङलाई निम्तो पनि पठाएका थिए । डोनाल्ड ट्रम्पले दुई नेताबीच फोनमा ‘राम्रो कुराकानी’ भएको पनि बताएका थिए । सी चिनफिङले घरेलुस्तरमा घट्दो उपभोग, सम्पत्ति संकट र बेरोजगारी जस्ता चुनौती सामना गरिरहेका छन् ।

रक्षा बजेट

चीनको रक्षा बजेट २४५ अर्ब डलर छ, जुन विश्वको दोस्रो ठूलो रक्षा बजेट हो । तर, यो अमेरिकाको भन्दा सानो छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार, बेइजिङले आफ्नो जीडीपीको १।६ प्रतिशत सेनामा खर्च गर्छ, जुन अमेरिका र रुसको तुलनामा धेरै कम हो ।

विश्लेषकहरू चीनले सार्वजनिक गरेको रक्षा बजेटमा विश्वास गर्दैनन् । चीनले जति खर्च गर्छ त्योभन्दा कम आँकडा बाहिर देखाइरहेको उनीहरूको दाबी छ । चीनको रक्षा बजेट अझै पनि अमेरिकाको भन्दा धेरै सानो छ । अमेरिकाले हरेक वर्ष आफ्नो रक्षा बजेटमा ८०० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्छ । चीनको रक्षा बजेट अमेरिकी रक्षा बजेटको एक तिहाइ हो । अमेरिकाको रक्षा बजेट ८८६ अर्ब डलर छ र यसले आफ्नो जीडीपीको ३ प्रतिशत यसमा खर्च गर्छ । तर, अमेरिकापछि चीन विश्वमा सेनामा सबैभन्दा धेरै खर्च गर्ने देश हो ।

अमेरिकाले सन् २०२३ मा चीनको आणविक हतियारको आधुनिकीकरणलाई लिएर चेतावनी दिएको थियो । त्यसपछि अमेरिकाले अनुमान गरेको थियो, चीनसँग ५०० भन्दा बढी आणविक हतियारहरू छन् । यी आणविक हतियारमध्ये ३५० वटा अन्तर्राष्ट्रिय ब्यालेस्टिक क्षेप्यास्त्र ९आईसीबीएम० भएको अमेरिकी अनुमान छ । अमेरिकी प्रतिवेदनमा २०३० सम्ममा चीनसँग एक हजारवटा आणविक हतियार हुने उल्लेख छ । अमेरिका र रुसले आफूहरूसँग पाँच हजारभन्दा बढी आणविक हतियार भएको दाबी गर्छन् । चीनको ‘सैन्य रकेट फोर्स’बारे पनि विवाद छ । यो युनिटले आफैँ आणविक हतियारहरू ह्यान्डल गर्छ ।

अमेरिकी सेनाको शक्ति

ग्लोबल फायर पावरका अनुसार, २०२५ को सैन्य शक्तिको वरीयतामा अमेरिका पहिलो स्थानमा छ । अमेरिकासँग कुल १३ हजार ४३ विमान छन्, जसमा १७९० वटा लडाकु विमान, ८८९ वटा अट्याक टाइप, ९१८ वटा ट्रान्सपोर्ट टाइप, दुई हजार ६४७ वटा ट्रेनर, ६०५ वटा ट्यांकर फ्लीट र पाँच हजार ८४३ हेलिकोप्टर छन् ।

अमेरिकी नौसेनामा ११ विमानवाहक पोत, नौ हेलिकोप्टरवाहक, ८१ डिस्ट्रोयर र ७० पनडुब्बीहरू छन् । अमेरिकी नौसेनाको कुल क्षमता लगभग ४१ लाख टन छ । अमेरिकी वायुसेनाको संख्या सात लाख एक हजार ३१९ र सेनाको संख्या लगभग १४ लाख छ । अमेरिकी नौसेनाको संख्या ६ लाख ६७ हजार छ ।

चीनको सैन्य शक्ति

ग्लोबल फायर पावरका अनुसार २०२५ को सैन्य शक्तिको वरीयतामा चीन तेस्रो स्थानमा छ । चिनियाँ जनमुक्ति सेना (पीएलए)को संख्या २५ लाख ४५ हजार छ । चिनियाँ नौसेनाको तीन लाख ८० हजार छ । वायुसेनाका संख्या लगभग चार लाख छन् । पीएलएसको वायुसेनासँग एक हजार २१२ लडाकु विमान, ३७१ अट्याक टाइप, २८९ ट्रम्पस्पोर्ट टाइप, ४०२ ट्रेनर, १० ट्यांक् फ्लीट र ९१३ वटा हेलिकोप्टरसहित कुल तीन हजार ३०९ वटा विमानहरू छन् ।

हालैका वर्षहरूमा चीनले आफ्नो नौ सेनाको विस्तार र आधुनिकीकरणमा धेरै ध्यान दिएको छ । हाल पीएलए नौसेनासँग तीनवटा विमानवाहक पोत, चार हेलिकोप्टरवाहक, ५० डिस्ट्रोयर, ४७ फ्रिगेट्स, ७२ कार्भेट्स र ६१ पनडुब्बीहरू छन् । पीएलए नौसेनाको कुल क्षमता २८।६ लाख टन छ । समाचार स्रोत बीबीसी