रुकुम । रुकुमपूर्वमा नाबालक नाति र हजुरआमाको हत्यापछि फरार रहेका एक व्यक्ति मृत भेटिएका छन् । मंगलबार दिउँसो भूमे गाउँपालिका– ४ साकिम गाँउकी ६० वर्षीया ढाटी बुढा र उनका नाति आठ महिनाका समिर बुढाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
दुई जनाको खुकुरी प्रहारबाट हत्या गरेर फरार रहेका भनिएका सोही गाउँका चन्द्रसिंह पुन पनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दिउँसो ३ बजेतिर पुनले घरमै गएर हजुरआमा र नातिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले जनाए । हत्यापछि फरार पुनलाई खोज्दै जाँदा सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको डीएसपी खरेलले बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।































