संगीत उद्योग संघको चौथो अवार्ड भव्य हुने

काठमाडौं । नेपाल संगीत उद्योग संघले भव्यता रुपमा चौथो संस्करणको अवार्ड गर्ने भएको छ । संघले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर ‘अथक शान्त साधक विश्वनाथ केडिया अमिन नेशनल म्युजिक अवार्ड–२०२५’को आयोजना बारे औपचारिक जानकारी दियो ।

नेपाली गीत, संगीत र सँस्कृति अभियान, व्यावसायिक एकतासहितको हाम्रो अभियान भन्ने मूल उद्देश्यका साथ नेपाल संगीत उद्योग संघले अमिन राष्ट्रिय म्युजिक अवार्ड २०२५’ चौथो संस्करण आयोजना गर्न लागेको संघका अध्यक्ष सूर्यबहादुर मगरले बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष मगरले थुप्रै चुनौतिकाबीच चौथो संस्करणको अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । दैनिक तीन–चारवटा अवार्ड कार्यक्रम आयोजना भइरहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष मगरले यस्तो प्रवृत्ति रोकिनु पर्ने र नभए यस्ता राष्ट्रिय सम्मानको गरिमा घट्ने बताए ।

नकारात्मक हल्ला र चुनौतिबीच पनि संघले यसअघिका तीनवटा संस्करण सर्वोत्कृष्ट अवार्डका रुपमा सम्पन्न गरेको जानकारी दिँदै उनले चौथो संस्करण थप भव्य गर्ने बताए । संघ आफैंमा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध संस्था भएकाले त्यसको ओझ घट्न नदिने उनको भनाइ छ ।

यो पल्ट २० विधामा ३० श्रेणीका अवार्ड वितरण गरिने अध्यक्ष मगरले बताए । उक्त अवार्डका लागि बिहीबारबाट फारम खुला गरिएको छ । अवार्डमा भाग लिनका लागि डिजिटल प्रविधि क्यूआर स्क्यान गरेर फारम भर्न सकिने उनले बताए ।

संघले अवार्ड कार्यक्रम गर्नका लागि सल्लाहकारहरुको समूह बनाइएको र त्यस समूहको छनोट र सिफारिसमा विभिन्न वरिष्ठ गायक गायिका तथा वरिष्ठ पत्रकारलाई सम्मान गर्ने जनाइएको छ ।

संघका अध्यक्ष मगरका अनुसार केही समयमा उत्कृष्ट पाँच मनोनयनको सूची सार्वजनिक गरी प्रमाणपत्र वितरण गर्ने र वैशाखको पहिलो साता अवार्ड कार्यक्रम आयोजना गर्ने तयारी छ ।