काठमाडौं । सदनको अवरोध खुलाउने लगायतका विषयमा छलफल गर्न आज पुनः राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा आइबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि बैठक बोलाइएको हो । बैठक दिउँसो ४ः०० बजे बस्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याएको थियो ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।