धनगढी । नेकपा (एमाले)ले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश नेतृत्व छानेकाे छ ।
एमालेका स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा छलफल गरि कृष्ण प्रसाद जैशीको नेतृत्वमा सवै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।
एमालेले प्रदेश कमिटि सदस्यहरु पनि सर्वसम्मत चयन गरेको जनाइएको छ ।
सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटीका लागि मंगलबार अध्यक्षसहित सवै पदाधिकारीमा उम्मेदवारी परेको थियो । जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसीससहित वचन बहादुर सिंह, कमल तिमिल्सेना र भरत साउँदले उम्मेदवारी दिएका थिए ।
आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए । तर, सहमति जुट्ने अवस्था नदेखिए पछि स्वस्थ प्रतिस्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शंकर पोखरेल सोमबार दाङ गएका थिए तर मंगलबार राती सहमति हुन पुग्यो ।
अध्यक्ष केपी ओलीले महासचिव पोखरेललाई सुदूरपश्चिम प्रदेश अधिवेशनको जिम्मा दिएर आइतबार नै काठमाडौं फर्किएका थिए ।
महासचिव पोखरेलले बन्द सत्रलाई थाति राखेर सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरेका थिए, तर सफल नभए पछि केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई जिम्मा दिएर उनी दाङ फर्किएका हुन् ।