एमाले कर्णाली प्रदेशको अधिवेशन, अध्यक्ष ओलीद्वारा उद्घाटन हुने

काठमाडौं । नेकपा (एमाले)को कर्णाली प्रदेशको प्रथम अधिवेशन आज बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू हुँदैछ ।

दिउँसो १ बजेबाट वीरेन्द्रनगरको सिटी हलमा सुरु हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले गर्नेछन्।

एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार अधिवेशनलाई अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा १० जिल्ला र मोर्चासंगठनबाट ६०४ जना प्रतिनिधि रहेका छन् । अधिवेशनको बन्द सत्र भोलि बिहीबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।

बन्दसत्रले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ । अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्सीय कमिटी निर्वाचित गर्ने बताइएको छ ।