लुम्बिनी । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ।
सोमबार रातिदेखि नै मतदान हुने भनिए पनि रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भन्दै मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन समितिले जनाएको हो ।
निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीका अनुसार मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने सहमतिमा सोमबार राति स्थगित गरिएको थियो ।
एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दिएका छन् । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा निर्वाचन हुने भएको छ ।
अधिवेशनबाट ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ। पदाधिकारी र प्रदेश कमिटी सदस्यसहितका लागि ३६४ जनाको उम्मेदवारी परेको छ।
शनिबार एमाले अध्यक्ष केपी ओलीले अधिवेशनलाई सहमतिबाटै नेतृत्व टुंग्याउन निर्देशन दिएपनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिष्ठाको लडाइँले निर्वाचन भएको एमालेका नेताहरूको भनाइ छ।