विराटनगर । बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन्।
धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का दीपक दर्जी, सोही स्थानका बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका– १२ का शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो।
नेपालको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ।
सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्दार गरेको हो।
उनका अनुसार विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन्। चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको उनले बताए। किशोरीको जबरजस्ती विवाहको तयारी गरेपछि उनकै आफन्तले प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी विवाह मण्डपमा पुगेको थियो