भीमेश्वरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा । दोलखाको भीमेश्वरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय सुजन मगरको मृत्यु भएको हो ।

कालिञ्चोकबाट चरिकोटतर्फ जाँदै गरेको बा २१ च ८२६८ नम्बर जीप बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते १२ मध्ये गम्भीर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।