रुसको निशानामा युक्रेनका सहयोगी युरोपेली देशः रेलमार्ग, विमानस्थल र ऊर्जा सञ्जालमा बढ्यो तोडफोडका घटना

काठमाडौं– युरोपमा रुसको निर्देशनमा भएको आशङ्का गरिएका तोडफोडका घटनाहरू तीव्र बन्दै गएका छन् । मस्कोले रेलमार्ग, विमानस्थल र ऊर्जा सञ्जाल जस्ता महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउन थालेपछि ठुलो सङ्ख्यामा मानिसको ज्यान जान सक्ने घटना निम्तिने जोखिम बढेको एक प्रमुख अन्तर्राष्ट्रिय थिंक ट्याङ्कको नयाँ प्रतिवेदनले चेतावनी दिएको छ ।

युक्रेनबाहेक युरोपको अन्य कुनै पनि देशसँग रुस प्रत्यक्ष युद्धमा छैन । युक्रेनलाई सहयोग गर्ने युरोपेली देशहरूको समर्थन कमजोर बनाउने उद्देश्यले मस्कोले विभिन्न समूह र माध्यम प्रयोग गरेर अप्रत्यक्ष द्वन्द्व सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थान (आईआईएसएस) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार रुसले पछिल्लो एक वर्षमा तोडफोडका गतिविधि बढाउँदै लगेको छ । विस्फोटक पदार्थ प्रयोग गर्ने र आगजनी गर्ने घटनाहरू झन्डै दोब्बर भएका छन् । यसले ठुलो सङ्ख्यामा मानिसको ज्यान जान सक्ने जोखिम निम्त्याएको छ ।

यस्तो ठुलो दुर्घटना वा आक्रमण भएमा रुसविरुद्ध प्रतिकार गर्नुपर्ने माग उठ्न सक्ने र यसले युरोपेली सरकारहरूबीच विभाजनसमेत ल्याउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

युक्रेनलाई सहयोग पुर्‍याउने सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने युरोपेली देशहरू जर्मनी र पोल्यान्डमा रुसी तोडफोडका घटना तुलनात्मक रूपमा बढी देखिएका छन् । प्रतिवेदनको निष्कर्षअनुसार सन् २०२५ अक्टोबरदेखि २०२६ सेप्टेम्बरसम्म अभिलेख गरिएका यस्ता घटनामध्ये आधाभन्दा बढी जर्मनी र पोल्यान्डमा भएका छन् ।

आईआईएसएसको विश्लेषणअनुसार सन् २०२५ अक्टोबरदेखि २०२६ सेप्टेम्बरसम्म पोल्यान्डमा मस्कोसँग सम्बन्धित २९ वटा घटना अभिलेख गरिएका छन् । तीमध्ये सन् २०२५ नोभेम्बरमा भएको एउटा घटनामा विस्फोटक पदार्थ प्रयोग गरी वार्सादेखि युक्रेनको सीमासम्म जोड्ने रेलमार्गमा क्षति पुर्‍याइएको थियो ।

घटनामा मानवीय क्षति नभए पनि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पछि उक्त विस्फोट रेल ध्वस्त पार्ने उद्देश्यले योजनाबद्ध रूपमा गराइएको हुन सक्ने बताएका थिए ।

प्रतिवेदनमा भनिएको छ, ‘यस्ता आक्रमणहरू युक्रेनको युद्ध प्रयासका लागि महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित छन् । सार्वजनिक पूर्वाधार र उच्च महत्त्वका स्थानहरूमा गरिएका आक्रमणको उद्देश्य भने सर्वसाधारणको विश्वास कमजोर बनाउनु र युक्रेनप्रतिको जनसमर्थन घटाउनु पनि देखिन्छ ।’

यसैबीच प्रतिवेदन सार्वजनिक हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रुस–युक्रेन वार्तासम्बन्धी विशेष दूत तथा ज्वाइँ जेरेड कुश्नरले चार वर्षभन्दा लामो समयदेखि जारी युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देखाएको ‘संयम’ को प्रशंसा गरेका छन् ।

पोलिटिकोको मातृ कम्पनी एक्सेल स्प्रिङ्गरका प्रमुख कार्यकारी अधिकृत माथियास डोफ्नरसँगको पोडकास्टमा बुधबार बोल्दै कुश्नरले भने, ‘उनले आणविक हतियार प्रयोग नगर्न सहमति जनाएका छन्, जुन स्पष्ट रूपमा ठुलो कुरा हो ।’