सउल । दक्षिण कोरियाली पप समूह बीटीएसले सन् २०२६ को ‘एमटीभी भिडियो म्युजिक अवार्ड्स’ (भीएमएज) मा तीनवटा अवार्ड जित्दै आफ्नो अवार्ड यात्रामा अर्को एक महत्वपूर्ण उपलब्धि थपेको छ ।
अमेरिकाको लस एन्जलसस्थित पिकक थिएटरमा आयोजित समारोहमा बीटीएसका जिन, भी, जे-होप, सुगा, जिमिन, जङकुक र आरएमले आफ्नो गीत ‘स्विम’ र समूहगत उपलब्धिका लागि तीनवटा ट्रफी जिते ।
बीटीएसले ‘स्विम’का लागि ‘सङ अफ द इयर’ र ‘बेस्ट के-पप’ अवार्ड जित्यो । समूहले ‘बेस्ट ग्रुप’ अवार्ड पनि आफ्नो नाममा पार्यो ।
यस वर्षको भीएमएजमा मनोनयनमा परेका सबै विधामा जित हासिल गर्दै बीटीएसले ‘क्लिन स्विप’ गरेको छ । ‘सङ अफ द इयर’को जित बीटीएसका लागि विशेष रह्यो। यो विधामा अवार्ड जित्ने बीटीएस पहिलो के-पप समूह बनेको छ ।
‘बेस्ट ग्रुप’ विधामा भने यो बीटीएसको पाँचौं जित हो । समूहले यसअघि सन् २०१९ देखि २०२२ सम्म लगातार चार वर्ष यो अवार्ड जितेको थियो । जितपछि बीटीएसले आफ्नो एजेन्सी बिगहिट म्युजिकमार्फत प्रशंसक समूह ‘आर्मी’ आभार व्यक्त गरेको छ ।
समूहले भनेको छ, ‘हामीलाई सधैं अटल माया र समर्थन दिइरहनुभएकोमा आर्मीप्रति हामी हार्दिक आभार व्यक्त गर्छौं । ‘अरिराङ’ हाम्रा लागि नयाँ सुरुवातजस्तै एल्बम हो, त्यसैले यी अवार्ड हाम्रा लागि अझ अर्थपूर्ण छन् ।’
‘सङ अफ द इयर’को जितबारे बीटीएसले थप भनेको छ, ‘विशेषगरी ‘स्विम’बाट ‘सङ अफ द इयर’जस्तो ठूलो अवार्ड जित्न सम्भव हुनु हाम्रो संगीतलाई माया गर्ने सबैका कारण हो ।’
यो सम्मानले ‘स्विम’लाई समूहको पछिल्लो यात्राको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित गरेको छ । बीटीएसका सदस्यहरूले आगामी दिनमा पनि सातै जना मिलेर संगीत सिर्जना र प्रस्तुति जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।समूहले भनेको छ, ‘आगामी दिनमा पनि हामी सातै सदस्य मिलेर राम्रो संगीत र प्रस्तुति दिइरहनेछौं ।’
सन् २०२६ को एमटीभी भीएमएजमा प्राप्त यी तीन अवार्ड बीटीएस र विश्वभर रहेका उनीहरूका समर्पित प्रशंसकका लागि अर्को महत्वपूर्ण उपलब्धि बनेका छन् ।






























