परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र जलवायु संकटविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्न गहिरो चासो देखाएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन्।
महासभाका क्रममा भएका साइडलाइन तथा द्विपक्षीय भेटवार्ताहरूमा भोटेकोशी बाढीले पुर्याएको क्षतिबारे विश्व समुदायले गम्भीर चासो र ऐक्यबद्धता प्रकट गरेको उनले जानकारी दिए।
‘भेटघाटको क्रममा भोटेकोशी बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको चासो र नेपालमा परेको दुःखप्रति सबैले ऐक्यबद्धता जनाउनुभएको थियो,’ मन्त्री खनालले भने, ‘नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौं भनेर मेरा सबैखाले औपचारिक र अनौपचारिक भेटवार्तामा प्रश्न र प्रसंगहरू उठेका थिए।’
बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्नेतर्फ विभिन्न राष्ट्र तथा निकायको रुचि पाएको उल्लेख गर्दै उनले नेपालले भोगिरहेको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर रहेको बताए।
‘समग्रतामा नेपाल जलवायु संकटले निम्त्याइरहेको प्रकोपमा परिरहेको छ, त्यसप्रति पनि विश्व समुदायको ऐक्यबद्धता रहेको पाएँ,’ मन्त्री खनालले थपे, ‘नेपालले जसरी आफ्ना अप्ठ्याराहरूलाई विश्व मञ्चमा उठायो, त्यसमा सबैको विशेष चासो रहेको मैले पाएँ।’
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन र नेपाली प्रतिनिधिमण्डलको उच्चस्तरीय भेटवार्ताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हित र जलवायु न्यायको मुद्दालाई थप सशक्त रूपमा स्थापित गरेको मन्त्री खनालको भनाइ छ।






























