बागलुङ — लगातारको अविरल वर्षाका कारण बागलुङका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो तीन दिनयता जिल्लाका फरक-फरक पालिकामा घर पुरिँदा १२ जनाले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा थप दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु (म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया) नरमाया रोका रहेका छन्। प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँका अनुसार पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्।
यसअघि, शनिबार ताराखोलामै पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको थियो। यस्तै आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता भएका थिए भने निसीखोला गाउँपालिकामा पहिरोका कारण पाँच जनाको ज्यान गएको थियो।






























