काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१० बस्ने अर्घाखाँची घर भएकी ३१ वर्षीया मनीषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, काठमाडौँ तारकेश्वर नगरपालिका–१६ बस्ने पाल्पा घर भएका ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्य विनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुइँटेल रहेका छन् ।
प्रहरीका अनुसार मनीषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ, खोप बहादुरले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ, दीपेन्द्रले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनीषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका–९ बाट शनिबार, खोप बहादुरलाई काठमाडौँ तारकेश्वर नगरपालिका–१६ बाट आइतबार, दिपेन्द्र र सितालाई काठमाडौँ महानगरपालिका–१२ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।






























