काठमाडौँ । नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाको संघीय राज्यका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको नेपाली नियोगले जनाएको छ ।
सो अवसरमा दुवै राजदूतबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विभिन्न विषयमा एक अर्कालाई सहयोग गर्नेबारे विचार आदानप्रदान भएको थियो । माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी टापु मिलेर बनेको एक द्विपीय राष्ट्र हो ।
माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर छ भने अनुमानित जनसङ्ख्या एक लाख रहेको छ । नेपाल र माइक्रोनेसिया दुवै ‘जी ७७ चाइना समूह’का सदस्य हुन् ।































