काठमाडौँ । किरात राई पत्रकार संघ (किराप) काठमाडौँ उपत्यका समन्वय समितिले नयाँ नेतृत्व पाएको छ। शनिबार काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको मुख्यालयमा सम्पन्न छैटौँ अधिवेशनले धनबल राईको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट समितिको उपाध्यक्षमा तेज किराँती र बबिता राई निर्वाचित भएका छन्। सचिवमा इश्वरी राई, सहसचिवमा दीक्षा राई (क) तथा कोषाध्यक्षमा दीक्षा राई (ख) चयन भएका छन्। समितिको सदस्यमा मिलन राई निर्वाचित भएका छन्।
अधिवेशनका अवसरमा किरात राई पत्रकार संघका संस्थापक उपाध्यक्ष तथा पहिलो निर्वाचित अध्यक्ष पदम राईलाई सम्मान गरिएको छ। संघको काठमाडौँ उपत्यका समन्वय समितिले फेटा बाँधेर तथा सम्मान पत्र प्रदान गरी उनलाई सम्मान गरेको हो।
कार्यक्रममा किरात राई पत्रकार संघका अध्यक्ष अवतार राई प्रमुख अतिथिका रूपमा सहभागी थिए। अधिवेशनले संघको काठमाडौँ उपत्यका समन्वय समितिका आगामी गतिविधिलाई नयाँ नेतृत्वमार्फत अघि बढाउने जिम्मेवारीसमेत तय गरेको छ।






























