काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न विज्ञ टोलीसहित रसुवा पुगेका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिको जानकारी लिन थापा शुक्रबार रसुवा पुगेका हुन्। काँग्रेस सभापतिको सचिवालयका अनुसार उनी विज्ञसहित नौकुण्ड गाउँपालिका-३ स्थित घिचेत क्षेत्रमा पुगेका छन्।
बाढी प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट भइरहेको स्थलगत अध्ययनलाई थप व्यवस्थित बनाउन थापाले विज्ञ टोलीलाई समेत साथमा लगेका हुन्। यसअघि भदौ १५ गते उनले नुवाकोटको विदुर नगरपालिका–३ पुगेर बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए।
थापाले बिहीबार पार्टीको स्थलगत निरीक्षणका क्रममा देखिएका अवस्थालाई आधार बनाएर विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने बताएका थिए।
भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा समेत ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि क्षतिको अवस्था र आवश्यकताका विषयमा विस्तृत विवरण सार्वजनिक गर्ने काँग्रेसको तयारी छ।































