चितवन — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चितवनबाट सङ्कलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेषलाई डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि जिल्लाबाट हालसम्म कुल २३३ शव तथा शवका अवशेष सङ्कलन गरिएको छ। तीमध्ये चारवटा शवको मात्र पहिचान भएको छ भने बाँकी २२९ शव अझै पहिचान हुन सकेका छैनन्।
पहिचान हुन नसकेका तथा बेवारिसे अवस्थामा रहेका शव र शवका अवशेषहरू लामो समयदेखि व्यवस्थापन हुन नसक्दा तीव्र रूपमा सड्दै–गल्दै गएको र दुर्गन्ध फैलिन थालेपछि स्वास्थ्य जोखिम बढेको प्रशासनले जनाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले समेत यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका छन्।
सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन तथा दुर्गन्ध नियन्त्रण गर्न चितवन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार व्यवस्थापन प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शवको डीएनए नमुना सङ्कलन गरी प्रत्येक शवलाई संकेत नम्बर प्रदान गरेर सुरक्षित अभिलेख राखिनेछ। यसरी डीएनए नमुना सुरक्षित राखिएपछि भविष्यमा आफन्तले खोजी गर्दा आवश्यक प्रक्रिया पूरा गरी पहिचान गर्न सकिने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ।
डीएनए नमुना सङ्कलन तथा अभिलेखीकरणको प्रक्रिया पूरा गरेपछि पहिचान नभएका शवहरूलाई भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि सम्मानजनक, सुरक्षित तथा कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा बाध्यात्मक परिस्थितिमा शव व्यवस्थापनको निर्णय लिनुपरेको जनाउँदै यसबाट पीडित परिवारलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी व्यक्त गरिएको छ।
प्रशासनले शोकको यस घडीमा सम्बन्धित परिवार, स्थानीय समुदाय तथा सबै पक्षबाट आवश्यक सहयोग र समन्वयका साथै घटनासम्बन्धी सकारात्मक तथा तथ्यपरक सूचना सम्प्रेषणका लागि आग्रह गरेको छ।































