गोसाइँकुण्ड जाँदै गरेको धादिङको बस बेत्रावतीबाट सम्पर्कविहीन

धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषबाट गोसाइँकुण्डका लागि बुधबार बिहान छुटेको यात्रुवाहक बस रसुवाको बेत्रावती क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको छ।

साङ्कोष निवासी छविलाल श्रेष्ठले चलाएको बा ५ ख १२५० नम्बरको बस बिहान करिब ६ बजे धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ रिजर्भमा गएको थियो। बसमा चालकसहित २६ जना सवार रहेको बताइएको छ। बसमा नीलकण्ठ नगरपालिका–३, ९ र १२ तथा सिद्धलेक गाउँपालिका–१ का स्थानीय रहेको जनाइएको छ।

बुधबार बिहान करिब ९ बजे रसुवाको बेत्रावतीबाट बसमा सवार यात्रुमध्ये केहीले आफन्तलाई फोन गरी आफूहरू बाढीका कारण समस्यामा परेको जानकारी गराएका थिए। त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

नीलकण्ठ नगरपालिका–१२ का प्रकाश खनालका अनुसार बसमा सवार प्रकाश लम्सालले बिहान करिब ९ बजे बेत्रावतीबाट अन्तिमपटक फोन गरेका थिए। फोनमा लम्सालले आफूहरू बाढीको पानीमा फसेको र एउटा घरको छतमा रहेको बताएका थिए।

‘हामी पानीमा फसेका छौँ, बेत्रावतीको एउटा घरको छतमा छौँ,’ भन्दै लम्सालले परिवारका बालबालिकाको ख्याल गरिदिन आग्रह गरेको खनालले बताएका छन्। त्यसपछि फोन काटिएको र पुनः सम्पर्क हुन नसकेको उनको भनाइ छ।

बसमा नीलकण्ठ–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल तथा चालक छविलाल श्रेष्ठ रहेका छन्।

त्यस्तै नीलकण्ठ–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल रहेका छन्। सिद्धलेक–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ–३ की सीता तिवारी, तुल्सी तिमिल्सिना र ईश्वरी तिमिल्सिना पनि बसमा रहेको बताइएको छ।

बस बेत्रावती क्षेत्रमा बाढीमा फसेको जानकारी आएपछि यात्रुका परिवार तथा आफन्तहरू चिन्तित बनेका छन्। बसको अवस्था र यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। प्रशासन तथा सुरक्षा निकायबाट खोजी तथा उद्धारका लागि पहल भइरहेको बताइएको छ।